कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औं आरएनजीसी बर्थडे कप सम्पन्न
२५ असोज, काठमाडौं । गोर्खा ब्रुअरीद्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औँ आरएनजीसी बर्थडे कप गल्फ प्रतियोगिता काठमाडौंस्थित ऐतिहासिक रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा सम्पन्न भएको छ ।
शुक्रबार र शनिबार सञ्चालन भएको प्रतियोगितामा देशभरका एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुष, महिला तथा विभिन्न उमेर समूहका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।
पुरुषतर्फ अज्जर सिम्हा विजेता बने भने सुरज श्रेष्ठ उपविजेता भए । महिलातर्फ अन्वद्या मल्ल विजेता बनिन् भने सम्झना खत्री उपविजेता घोषित भइन् । त्यस्तै, सिनियर पुरुषतर्फ युवराज गुरुङ विजेता बने भने रविन्द्र मान श्रेष्ठ उपविजेता भए ।
प्रतियोगिताको समापनसँगै आयोजित पुरस्कार वितरण समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिएको थियो । कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औँ आरएनजीसी बर्थडे कपले नेपालको गल्फ खेलको प्रवर्द्धन, खेलाडीबीचको सम्बन्ध विस्तार तथा निजी क्षेत्र र खेलकुद संस्थाबीचको सहकार्यको महत्त्वलाई पुनः उजागर गरेको आयोजकले जनाएको छ ।
रोयल नेपाल गल्फ क्लबको १०९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताले नेपालको गल्फ खेलको ऐतिहासिक विरासतलाई सम्मान गर्नुका साथै खेल भावना, स्वस्थ प्रतिस्पर्धा र आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो ।
प्रकाशित मिति : October 11, 2026 at 12:32 pm





