बूढीगण्डकी बाढीले पुर्याएको क्षतिप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न आग्रह
२५ असोज, काठमाडौं । गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएपछि नेपाली कांग्रेसका सभापित गगनकुमार थापाले चिन्ता व्यक्त गरेका छन्। बाढीले उक्त क्षेत्रको भौतिक संरचनामा क्षति पुर्याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुलसमेत बगाएको खबरले आफूलाई स्तब्ध बनाएको उनले बताएका छन् ।
सभापति थापाले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे । उनले स्थानीय नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गरेको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न विशेष अनुरोध गरेका छन्।

विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न सभापति थापाले कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। बाढी प्रभावित क्षेत्रमा हुन सक्ने थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन उनको आग्रह छ।
प्रकाशित मिति : October 11, 2026 at 10:32 am





