२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

चिटले होइन, विवेकले नेतृत्व छान्नुपर्छ : सन्जुबाबु पोखरेल

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गुटबन्दी अन्त्य र पार्टी रूपान्तरणको बहस चलिरहेका बेला प्यानलको चिट बाँडिएको भन्ने चर्चाले महाधिवेशन प्रतिनिधिको स्वतन्त्र निर्णय क्षमता र मतदान विवेकमाथि प्रश्न उठाएको छ।

नेपाली कांग्रेसका युवा नेता सन्जुबाबु पोखरेलले महाधिवेशन प्रतिनिधिहरू कसैको चिट वा दबाबमा नभई उम्मेदवारको योग्यता, इमानदारी, योगदान र संगठनप्रतिको प्रतिबद्धताका आधारमा मतदान गर्नुपर्ने बताएका छन्।

महाधिवेशनमा सहभागी पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महाधिवेशन प्रतिनिधि पार्टीको भविष्य निर्धारण गर्ने जिम्मेवार निर्णायक भएको उल्लेख गरेका छन्। प्यानलको सूचीका आधारमा नभई उम्मेदवारको क्षमता र दृष्टिकोणका आधारमा नेतृत्व चयन हुनुपर्ने उनको जोड छ।

१४औँ महाधिवेशनमा पूर्वगण्डकी प्रदेश महासमिति सदस्य रहेका पोखरेल १५औँ महाधिवेशनमा गण्डकी प्रदेश र प्रदेशसभा सदस्यका प्रस्तावकसमेत हुन्। उनले आफू नेपाली कांग्रेसको महाधिवेशनमा उद्घाटनदेखि समापनसम्म सहभागी हुँदै आएको उल्लेख गर्दै प्रतिनिधिहरूले आफ्नो मताधिकारको स्वतन्त्र रूपमा प्रयोग गर्नुपर्ने बताएका छन्।

‘महाधिवेशन प्रतिनिधि कसैको चिट बोकेर मतदान गर्ने पात्र होइनन्; उनीहरू पार्टीको भविष्य निर्धारण गर्ने जिम्मेवार निर्णायक हुन्,’ पोखरेलले भनेका छन्।

उनले गुटरहित कांग्रेस निर्माणको प्रतिबद्धता भाषणमा मात्र सीमित हुन नहुने भन्दै त्यसको वास्तविक परीक्षा व्यवहार र मतदानमा देखिनुपर्ने बताएका छन्। उनका अनुसार पार्टीभित्र गुटबन्दी अन्त्य गर्ने हो भने नेतृत्व चयन प्रक्रियामा पनि प्रतिनिधिको स्वतन्त्र विवेक र उम्मेदवारको योग्यतालाई प्राथमिकता दिनुपर्छ।

‘हाम्रो मत कसैको दबाबमा होइन, आफ्नै विवेकमा आधारित हुनुपर्छ,’ पोखरेलले भनेका छन्, ‘कांग्रेस बदल्ने हो भने पहिले मतदान संस्कार बदलौँ।’

महाधिवेशनमा प्यानलको चिट वितरण भएको भन्ने चर्चा सार्वजनिक भए पनि त्यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ। यस्तो अवस्थामा पोखरेलको अभिव्यक्तिले पार्टीभित्र गुटबन्दी अन्त्यको नारासँगै स्वतन्त्र मतदान संस्कारको आवश्यकतालाई पनि बहसमा ल्याएको छ।

कांग्रेसको नेतृत्व चयनमा प्रतिनिधिहरूले व्यक्तिगत विवेक, उम्मेदवारको क्षमता र पार्टीप्रतिको योगदानलाई प्राथमिकता दिनुपर्ने उनको सन्देश छ।

प्रकाशित मिति : October 10, 2026 at 6:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/