२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

कांग्रेस महाधिवेशनस्थलबाटै पक्राउ परिन विनिता खड्का

२३ असोज, काठमाडौँ ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई शुक्रबार राति काठमाडौंमा पक्राउ गरेको हो।

कांग्रेसको खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी खड्का महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका बेला पक्राउ परेको स्रोतले जनाएको छ । सीआईबी स्रोतका अनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाईंमार्फत खड्काको नाम पनि अनुसन्धानमा जोडिएको थियो । सोही प्रकरणमा थप अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

यसअघि सीआईबीले दोलखाकी ३२ वर्षीया बालिका सिवाकोटी र रामेछापका ५१ वर्षीय चौलागाईंलाई पक्राउ गरेको थियो। उनीहरूमाथि इजरायल पठाइदिने प्रलोभन देखाएर २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ। उक्त प्रकरणमा खड्काको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

खड्कामाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्ध राखेर मुद्दामा चलखेल गरेको आरोपसमेत लाग्दै आएको स्रोतले जनाएको छ। यद्यपि, यससम्बन्धी आरोपको स्वतन्त्र पुष्टि भएको छैन। सीआईबीले खड्काको पक्राउ र उनीमाथि लागेको आरोपबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

खड्काले आफ्नो राजनीतिक यात्रा बाल कांग्रेसबाट सुरु गरेकी थिइन्। त्यसपछि नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका विभिन्न जिम्मेवारीमा रहेर उनी कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आएकी छन्।

उनी १३औँ महाधिवेशनमा देशभरकै कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएको बताइएको छ। १४औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि बनेकी उनी केन्द्रीय सदस्य पदको उम्मेदवार बनेकी थिइन्।

२०८२ पुसको अन्त्यमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट उनी जेनजी उमेर समूहको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य बनेकी थिइन्। १५औँ महाधिवेशनमा रामेछापबाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएको बताइएकी खड्काले यसपटक पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन्।

महाधिवेशनका क्रममा उनले पार्टी रूपान्तरण, नयाँ सोच र युवा सहभागितालाई आफ्नो मुख्य एजेन्डा बनाउँदै प्रतिनिधिसँग मत मागिरहेकी थिइन् । तर, इजरायल पठाउने नाममा भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेपछि उनी प्रहरी अनुसन्धानको दायरामा पुगेकी छन्।

प्रकाशित मिति : October 9, 2026 at 10:57 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/