मतदान अघि गगनको अपिल : ‘कुनै प्यानल छैन, स्वतन्त्र विवेकले मतदान गर्नुस्’
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि भइरहेको निर्वाचनमा कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन्। उनले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
केन्द्रीय कार्यसमितिका लागि मतदान सुरु हुनुअघि फेसबुकमार्फत अपिल जारी गर्दै थापाले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि अफवाह वा प्रभावमा नपरी स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न आग्रह गरेका हुन्।
थापाले विभिन्न उम्मेदवारहरूको सूची आफ्नो नामसँग जोडेर प्रचार भइरहेको आफूले जानकारी पाएको उल्लेख गर्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थनका रूपमा नलिन आग्रह गरेका छन्।

‘यसपटक कुनै पनि प्यानल वा गुट छैन,’ थापाले आफ्नो अपिलमा भनेका छन्। उनले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वस्थ र मर्यादित बनाउन सबै प्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।
उनले मतदानमा सहभागी हुने प्रतिनिधिहरूलाई संयमित, मर्यादित र उत्साहपूर्ण ढङ्गले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पनि आग्रह गरेका छन्।
यसअघि हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो भएको उल्लेख गर्दै थापाले त्यसबाट महाधिवेशन प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन्।
महाधिवेशन प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै थापाले पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर मतदान गर्न आह्वान गरेका छन्।
प्रकाशित मिति : October 9, 2026 at 8:21 am






