२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

बुढानीलकण्ठमा २१ किलो सुनसहित आधा दर्जन चिनियाँ नागरिक पक्राउ

२२ असोज, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट प्रहरीले २१ किलो सुनसहित आधा दर्जन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार करिब पाँच घण्टा लामो अपरेसन चलाएर ठूलो परिमाणमा सुन बरामद गर्नुका साथै सुन तस्करीमा संलग्न रहेको आशंकामा चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको हो ।

बुढानीलकण्ठ क्षेत्रमा चिनियाँ नागरिकहरूले सुनको तस्करी तथा कारोबार गर्दै आएको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयले विशेष निगरानी बढाएको थियो । प्रारम्भिक सूचनाका आधारमा सुनको कारोबार हुने स्थान पहिचान भएपछि कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का स्वयं फिल्डमा खटिएका थिए ।

बिहीबार बिहानदेखि परिचालित प्रहरी टोलीले अपराह्नसम्म अपरेसन जारी राखेको थियो । त्यसक्रममा करिब आधा दर्जन चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको साथबाट २१ किलो सुनसहित सुन पगाल्न प्रयोग हुने मेसिन, सुन जोख्ने उपकरणलगायत सामग्रीसमेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेका विदेशी नागरिकहरूबाट बरामद सुनको स्रोत, तस्करीको रुट तथा कारोबारमा संलग्न अन्य व्यक्तिहरूबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक गर्न शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।

प्रकाशित मिति : October 8, 2026 at 10:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/