२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने, वडा र पालिका अधिवेशनको मिति पनि तय

२२ असोज, काठमाडौं । नेकपा एमालेले आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाको मिति तय गरेको हो ।

बैठकले राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्षसहित सबै तहका जनप्रतिनिधिलाई सहभागी गराउने निर्णय गरेको छ।

त्यस्तै, पार्टीका वडा कमिटीको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका तहको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ। वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णयसमेत भएको छ।

बैठकको प्रारम्भमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन्।

स्थायी कमिटी बैठकले मधेश प्रदेशसभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गर्ने जैनब खातुनको निधनपछि रिक्त स्थानमा नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ। खातुन समानुपातिक उम्मेदवारको बन्दसूचीमा क्रमसंख्या ४० तथा मापदण्डअनुसार क्रमसंख्या ४२ मा रहेकी थिइन्।

त्यसैगरी, जिल्ला अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा जिल्ला तहबाटै अध्यक्ष चयन गरी संगठन कमिटीमा रूपान्तरण गर्ने र त्यसलाई माथिल्लो कमिटीबाट अनुमोदन गराउने निर्णय बैठकले गरेको छ।

स्थायी कमिटीको बैठक शुक्रबार पुनः बस्नेछ।

प्रकाशित मिति : October 8, 2026 at 5:03 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/