२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

१० लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

२२ असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी अधिकृत डिल्लीबहादुर वलीविरूद्ध १० लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ। काठमाडौंको डिल्लीबजारस्थित नापी कार्यालयअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार वलीले छुट जग्गा दर्तासम्बन्धी फाइल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाइदिने र दर्ताको काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस मागेका थिए। घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा छुट जग्गा दर्ताको सिफारिस सहितको मिसिल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालयमा पठाइदिने र दर्ताको काममा सहजीकरण गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीसँग १० लाख रुपैयाँ माग गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। अख्तियारले वलीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १० लाख रुपैयाँ बिगो कायम गरेको छ।

प्रकाशित मिति : October 8, 2026 at 4:49 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/