२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

सूचना बेच्ने माथि कडा कारबाही गर्ने गृहमन्त्री गुरूङको संकेत

२० असोज, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिप्रति सरकार गम्भीर रहेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै गृहमन्त्री गुरुङले गृह प्रशासनभित्र गोप्य तथा संवेदनशील सूचना चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका हुन् । सोमबार मात्र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल यस्तै अभियोगमा निलम्बनमा परेका छन । उक्त विषयमा विभिन्न टिप्पणीहरू सार्वजनिक हुन थालेपछि गृहमन्त्री गुरूङले यस्तो प्रतिक्रिया दिएका हुन ।

उनले राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गरेका छन् । पदका कारण राज्यका सूचनामा पहुँच प्राप्त भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ।

गृहमन्त्री गुरुङले राज्य संयन्त्रबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोकथाम, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक बन्न सक्ने बताएका छन्।

उनले राज्यले सुम्पिएको गोपनीयताको जानाजान दुरुपयोग गरी देश र संगठनप्रति विश्वासघात गर्ने जोसुकै भए पनि कारबाहीको दायराबाट उम्कन नसक्ने चेतावनी दिएका छन्। ‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन,’ गृहमन्त्री गुरुङले भनेका छन्, ‘कानूनको कठघरामा ल्याइनेछ।’

गृहमन्त्रीको यो भनाइ गृह प्रशासनभित्रका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा बाहिरिने विषयमा केन्द्रित देखिएको छ।

प्रकाशित मिति : October 6, 2026 at 10:51 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/