अनुहार बदलेर हुँदैन, बदलाव ल्याउन नयाँ राजनीतिक क्रान्तिको आवश्यकता छः शंकर पोखरेल
१८ असोज, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन् । आइतबार नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै पोखरेलले मुलुक अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको भन्दै राष्ट्रियताका प्रश्नमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए।
‘गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौँ । त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौँ। अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ । यो एकदमै सकारात्मक कुरा हो,’ पोखरेल भने ।
पोखरेलले नेपालका वामपन्थी र लोकतन्त्रवादी शक्तिहरू विगतमा मिलेर राणाशाही, पञ्चायत र राजा ज्ञानेन्द्रको तानाशाही परास्त गरेको स्मरण गर्दै लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको बताए।

‘जसरी हिजो हामी नेपालका वामपन्थीहरू र लोकतन्त्रवादी शक्तिहरू मिलेर राणाशाहीलाई परास्त गरेका छौं, पञ्चायतलाई परास्त गरेका छौं, राजा ज्ञानेन्द्रको तानाशाहीलाई परास्त गरेका छौं, त्यसैगरी हामीले लोकतन्त्रको रक्षाका लागि फेरि एक पटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ,’ एमाले महासचिव पोखरेलले भने।
उनले राजनीतिक दलले केवल अनुहार परिवर्तन गरेर मात्र नयाँ सामाजिक मनोविज्ञानलाई सम्बोधन गर्न नसक्ने बताए। ‘अनुहार बदलेर हुँदैन। सूचना प्रविधिको क्रान्तिले ल्याएको सामाजिक मनोविज्ञानमा बदलाव ल्याउनका लागि नयाँ राजनीतिक क्रान्तिको आवश्यकता छ,’ उनले भने।
प्रकाशित मिति : October 4, 2026 at 5:47 pm






