१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

दलहरूलाई विगतकै ढाँचामा रहने छुट छैनः डा. भट्टराई

१८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी नयाँ रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। आइतबार खुलामञ्चमा कांग्रेसको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले पुराना पार्टीहरूको पुरानो नेतृत्व र विचारले मात्रै अब देशको आवश्यकता पूरा गर्न नसक्ने बताए ।

भट्टराईले राजनीतिक दलहरूलाई विगतकै ढाँचामा रहने छुट नरहेको बताएका छन् । ‘अहिले २१ औं शताब्दीमा आइपुग्दा विश्वमा जुन खालको चमत्कारी विकास भएको छ । यसले जुन ढंगको परिवर्तन ल्याएको छ । यसले राजनीतिक दलहरूलाई हिजकै ढाँचामा रहन दिँदैन,’ उनले भने ।

उनले आफू तत्कालीन माओवादीमा हुँदादेखि नै नयाँ शक्तिको बारेमा वकालत गर्दै आएको बताए । ‘१२ वर्षपछि आज म स्मरण गर्न चाहन्छु, नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ, र कांग्रेस रूपान्तरण भएर नयाँ नेतृत्व आएको छ। यो देख्दा मलाई खुसी लागेको छ,’ उनले भने।

मलेसिया, कोरिया, सिंगापुर, चीनहरूले ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे दृष्टान्त सुनाउँदै आगामी २० वर्षभित्र हामी पनि कसरी त्यहाँ पुग्ने भनेर योजना बनाउनुपर्ने उनको भनाइ थियो । ‘अहिले पनि समय छ, सबैले सोच्नुस् । अरु देश कसरी विकास भए ? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरूले ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?,’ भट्टराईले भने ।

भट्टराईले संविधान जारी भएको एक दशक बितिसक्दा पनि राजनीतिक दलहरू सरकार बनाउने र गिराउने खेलमै अल्झिएको बताए। यसकै कारण आर्थिक समृद्धिको दिशामा अपेक्षित प्रगति हुन नसकेको उनको भनाइ थियो।

उनले नेपालमा पुराना राजनीतिक दलको सोच, नीति र कार्यक्रमबाट मात्रै देशलाई अघि बढाउन नसकिने धारणा राखे। नयाँ शक्तिको उदयलाई सकारात्मक रूपमा लिँदै उनले रास्वपा सत्ताको नेतृत्वमा पुग्नुले अन्य दललाई समेत रूपान्तरणका लागि दबाब दिएको बताए।

‘हामीले संविधानसभाबाट संविधान जारी गरेपछि लोकतान्त्रिकरणको एउटा चरण पूरा भयो। तर अब हाम्रो पुरानै सोच, पुरानै पार्टी र त्यही विचार, नीति र कार्यक्रमले देशलाई अगाडि लैजान सक्दैन,’ उनले भने।

प्रकाशित मिति : October 4, 2026 at 5:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/