१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

१४ असोज, काठमाडौं । प्रतिनिधिसभामा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले प्रतिनिधिसभाको बैठकमा बोल्दै नोटबन्दीको विषय उठाएका हुन् ।  न्यौपानेले ३५ वर्षदेखि भ्रष्टाचार गरेर लुकाएर राखेको पैसा व्यवस्थापन गर्नका लागि दलहरूले संघर्ष गर्न लागेको बताउँदै नोटबन्दी गर्नुपर्ने बताए ।

उनले भने, ‘३५ वर्षदेखि देश लुटेकाहरूले राखेको कालो धनका कारण आज उनीहरू शक्ति प्राप्त भयो। यो देशका विरुद्धमा, प्राप्त जनमतका विरुद्धमा सङ्घर्ष गर्ने भनेर यताकता सुनिँदै छ। हामीलाई थाहा छ यो पैसा कालो र यो देश लुटेको धन हो। यो पैसाको व्यवस्थापन उनीहरूले विभिन्न ठाउँमा गरेको सुनिएको छ। त्यसैले नोटबन्दी गर्नु पर्‍यो। तत्काल यी नोटहरूलाई बैंकिङ प्रणालीमा ल्याउनुपर्‍यो र नयाँ नोट जारी गर्नुपर्‍यो’

भारतमा पनि नोट बन्द गरिएको उल्लेख गर्दै उनले त्यसबाट सिक्नुपर्ने बताए । न्यौपानेको प्रस्तावपछि नेकपाका प्रमुख सचेतक युवराज दुलालले लगत्तै बोलेर समर्थन जनाए। ‘म सरकार पक्षमा पूर्ववक्ता माननीयज्यूले राखेको विषयमा पूर्ण समर्थन, शतप्रतिशत समर्थन गर्दै रास्वपाको सरकारलाई अविलम्ब पूराना नोटहरूलाई एक हजार र पाँच सय रुपैयाँको नोटहरूलाई नोटबन्दी गर्नका लागि आह्वान गर्दछु ।’ दुलालले भने।

उनले आवश्यक परे आफ्नो दलका संघीय संसदका सबै सांसदले हस्ताक्षर गरेर सहयोग गर्ने बताए। ‘हाम्रो दलको तर्फबाट सम्पूर्ण रूपमा साथ र सहयोग हुनेछ। हाम्रो संघीय संसदका सबै सांसदहरूले हस्ताक्षर गरेर दिनुपरे पनि आजै दिने घोषणा गर्न चाहन्छु,’ उनले भने।  उनले  नोट नोटबन्दी गर्न सरकारलाई केले छेकेको छ भनेर पनि प्रश्न गरे। ‘भ्रष्टाचार गरेर राखेको नोटबन्दी गर्न तपाईँलाई केले छेक्यो? तुरुन्त गर्न माग गर्छु, यसको लागि सभामुखबाट पनि रुलिङ होस्।’

 

प्रकाशित मिति : September 30, 2026 at 4:09 pm