८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

रूसबाट वैधानिक रूपमा पैसा पठाउने माध्यमको व्यवस्था गर्न खुश्बु ओलीको माग

८ असोज, काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले रूसमा रहेका नेपालीले आफ्नो कमाइ नेपालमा वैधानिक रूपमा पठाउन सक्ने प्रभावकारी माध्यमको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै ओलीले रूसमा रहेका नेपाली विद्यार्थी, श्रमिक, व्यवसायी तथा गैरआवासीय नेपालीले भोगिरहेका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।

उनले रूसबाट नेपालमा वैधानिक रूपमा पैसा पठाउने प्रभावकारी माध्यम नहुँदा त्यहाँ रहेका नेपाली समस्यामा परेको बताइन्। रूस–युक्रेन युद्धपछि रूसका प्रमुख बैंकहरू अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट प्रभावित भएकाले त्यहाँ वैधानिक रूपमा काम गरिरहेका नेपालीले आफ्नो कमाइ नेपालस्थित परिवारसम्म औपचारिक माध्यमबाट पठाउन कठिनाइ भोगिरहेको उनको भनाइ थियो।

ओलीले रूसमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त विप्रेषण कम्पनीका एजेन्ट वा साझेदार संस्था नरहेको बताइन्। यसले नागरिकलाई कानुन पालना गर्न चाहँदा पनि व्यवहारमा वैकल्पिक बाटो नपाउने अवस्था सिर्जना भएको उनले बताइन्।

‘रूसमा रहेका नेपालीलाई वैधानिक रूपमा पैसा पठाउने बाटो नदिएर मात्र हुण्डी रोकिँदैन; बरु वैधानिक बाटो बन्द हुँदा अनौपचारिक माध्यमतर्फ धकेलिने जोखिम बढ्छ,’ उनले भनिन्। केही समयअघि भोटेकोशी र त्रिशूली बाढीपीडितका लागि रुसस्थित नेपालीहरूले संकलन गरेको २० लाख रुपैयाँसमेत वैधानिक बैंकिङ च्यानल नहुँदा नगदै बोकेर नेपाल ल्याउनुपरेको उदाहरण उनले दिइन् । हुन्डी नियन्त्रण गर्न र वैधानिक बाटो खोल्न नेपाल राष्ट्र बैंकले भारतीय संयन्त्र, एनपीआई–युपीआई वा प्रतिबन्ध नभएका तेस्रो मुलुकका विप्रेषण कम्पनीमार्फत कारोबारको व्यवस्था मिलाउनुपर्ने उनले बताइन् ।

आवश्यक परे रूस वा प्रतिबन्धबाट प्रभावित नभएका तेस्रो मुलुकमार्फत इजाजतप्राप्त विप्रेषण कम्पनीका एजेन्ट नियुक्त गर्ने व्यवस्था मिलाउन पनि उनले आग्रह गरिन्।यसैगरी रुस सरकारको पूर्ण छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई शिक्षा मन्त्रालयले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नदिँदा छात्रवृत्ति नै गुम्ने जोखिम बढेको ओलीले बताइन्। शैक्षिक सत्र २०२६/२७ का लागि रुसले दिएको ४० वटा कोटाका विद्यार्थीलाई अध्ययन अनुमति नरोक्न भन्दै उनले रोजगारीमा जाने श्रमिक र पढ्न जाने विद्यार्थीलाई एउटै दृष्टिले हेर्न नहुने उनले बताइन् ।

 

प्रकाशित मिति : September 24, 2026 at 1:58 pm