९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

क्यामेरामा अनुहार देखिएकै भरमा थुनामा राख्न पाइँदैन, दसैँअघि नै छाडियोस्ः सांसद सेञ्चुरी

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले जेनजी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग गरेकी छिन् ।प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेञ्चुरीले कानुनसम्मत प्रक्रिया अपनाएर बन्दी युवाहरूलाई दसैँमा घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।

सांसद सेञ्चुरीले आन्दोलनमा सहभागी भएकै आधारमा र क्यामेरामा अनुहार देखिएकै भरमा युवाहरूलाई राज्यले लामो समयदेखि थुनामा राखेको भन्दै आपत्ति जनाइन् । ‘कोही सडकबाट सदनसम्म आइपुगे, तर आन्दोलनमा सहभागी युवाहरू अझै आफ्नो घरको आँगनसम्म पुग्न पाएका छैनन्,’ उनले भनिन्, ‘हामीले पटक–पटक सम्बन्धित मन्त्रालयमा कुरा पुर्‍यायौँ र सरकारको ध्यानाकर्षण गरायौं, तर यो विषय अझै किन टुङ्गेन ?’ सरकार कुन प्रक्रियामा अड्किएको हो र कसको निर्णयको पर्खाइमा छ भन्दै उहाँले तत्काल स्पष्ट पार्न आग्रह गरिन् ।

 

प्रकाशित मिति : September 24, 2026 at 1:10 pm