भन्सार अधिकृतले सशस्त्रका एसपीलाई धम्क्याएको विषय संसद्मा उठ्यो
८ असोज, काठमाडौं । भन्सार अधिकृतले सशस्त्र प्रहरीका एसपीलाई धम्क्याएको एउटा अडियो टेप सार्वजनिक भएपछि सो विषयले प्रतिनिधिसभामा प्रवेश पाएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद टिका संग्रौला (ज्वाला)ले भन्सार अधिकृतको हर्कतप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
भन्सारमा गाडी नियन्त्रणमा लिएको भनी अत्यन्तै तल्लो स्तरको धम्कीपूर्ण भाषा प्रयोग गर्दै थर्काएको विषय बाहिर आएको भन्दै उनले संसद्मा विषय उठान गरेकी हुन् । ‘कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई भन्सारमा गाडी नियन्त्रणमा लिएको भन्दै अत्यन्तै तल्लो स्तरको धम्कीपूर्ण भाषा प्रयोग गर्दै थर्काएको विषय बाहिर आएको छ। ती कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरिक्षक र स्वयम गृहमन्त्रीलाई समेत स्वाट्टै हान्छु भन्दै कानुन, मर्यादा र चेन अफ कमाण्ड धब्जी उडाएका छन्’ संग्रौलाले भनिन्, ‘यो स्वाट्टै हान्छु भनेको के हो ? फोन हान्छु भनेको हो कि, तिमिलाई भेटेर हान्छु भनेको हो कि अथवा तिम्रो पद खान्छु भनेको हो ?’

सीमा क्षेत्रमा राजस्व चुहावट नियन्त्रणका लागि खटिएका सुरक्षा अधिकारीलाई भन्सार अधिकृतबाटै गैरजिम्मेवार र धम्कीपूर्ण भाषा प्रयोग हुनु गम्भीर विषय भएको उनले बताइन्। उनले भनिन्, ‘आफ्नो जिम्मेवारी र सीमाभित्र रहेर राजस्व चुहावट नियन्त्रण गर्न खोज्ने सुरक्षा निकायका अधिकारीलाई सीमा क्षेत्रका भन्सार अधिकृतले नै यसरी गैरजिम्मेवार र धम्कीपूर्ण भाषा प्रयोग गर्नु गम्भीर चिन्ताको विषय हो।’ सांसद संग्रौलाले उक्त अडियो प्रकरणले सिंगो राज्य संयन्त्रको छविमै धुमिल बनाएको भन्दै तत्काल निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरिन्।
प्रकाशित मिति : September 24, 2026 at 12:05 pm




