ओलीलाई हटाउने कसरत, मोर्चाबन्दी र भाष्य असफल भयो : सूर्य थापा
८ असोज, काठमाडाैँ । काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि भइरहेको आलोचनाको प्रतिवाद गर्दै ‘ओलीबिनाको एमाले’ सम्भव नरहेको दाबी गरेका छन् ।
केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएपछि थापाले सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै ओलीको नेतृत्व, राजनीतिक योगदान र कार्यशैलीको बचाउ गरेका हुन्।
थापाले पछिल्ला वर्षमा ओलीलाई घमण्डी, अहंकारी, दम्भी, हेपाहा, व्यंग्य गर्ने, कडा बोल्ने, एकल निर्णय गर्ने र समन्वय नगर्ने नेताका रूपमा चित्रित गर्ने गरिएको भन्दै त्यस्ता आलोचना स्वार्थप्रेरित रहेको दाबी गरेका छन्।
उनले ओलीको राजनीतिक जीवनलाई देशभक्ति, कम्युनिस्ट आन्दोलनप्रतिको प्रतिबद्धता र राष्ट्रिय हितसँग जोड्दै सुस्ता–महेशपुरको अतिक्रमणविरुद्धको संघर्षदेखि भारतीय नाकाबन्दीको समयमा लिएको अडानसम्मका प्रसंग उल्लेख गरेका छन्। चीनतर्फ पारवहन नाका खोल्ने निर्णय तथा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा प्रकाशन र संविधान संशोधनमार्फत निशान छापमा समावेश गर्ने कामलाई पनि थापाले ओलीको नेतृत्वका महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।
ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजन र असफलताको अवस्थाबाट सफलताको शिखरसम्म पुर्याउन नेतृत्व गरेको दाबी गर्दै थापाले राजनीतिक जीवनमा उनले आन्दोलनप्रति धोका नगरेको बताएका छन्।
उनका अनुसार ओलीमाथि विभिन्न आरोप लागे पनि भ्रष्टाचार गरेको वा व्यक्तिगत स्वार्थका लागि पार्टीलाई धोका दिएको कुनै आधार छैन। बरु ओली र उनकी श्रीमतीको निजी सम्पत्तिसमेत राष्ट्रलाई सुम्पिएको थापाको दाबी छ।

विकास निर्माणका क्षेत्रमा पनि ओलीको नेतृत्वमा महत्वपूर्ण काम भएको थापाले बताएका छन्। धरहरा, रानीपोखरी र काष्ठमण्डपको पुनर्निर्माण, भूकम्पपीडित तथा विपद् प्रभावितका घर निर्माण र सुरुङमार्ग निर्माणको सुरुवातलाई उनले ओली नेतृत्वका उल्लेखनीय कामका रूपमा व्याख्या गरेका छन्।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय गन्तव्य ओलीकै सूत्रीकरण भएको उल्लेख गर्दै थापाले बहुआयामिक विकासका क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने अर्को प्रधानमन्त्री आफूले नदेखेको दाबी गरेका छन्।
ओलीको अभिव्यक्ति शैलीको समेत बचाउ गर्दै थापाले उनका उखान, टुक्का, बिम्ब र मेटाफर प्रयोगलाई आलोचनाको विषय बनाइएको बताएका छन्। उनका अनुसार ओलीको मौलिक भाषाशैली बुझ्न नसक्नु प्रयोगकर्ताको कमजोरी नभई बुझ्ने व्यक्तिको सीमासँग सम्बन्धित विषय हो।
थापाले ओली असहमत व्यक्तिसँग पनि संवादमा रहन सक्ने, व्यक्तिको पद, ओहदा, उमेर, जात वा वर्गका आधारमा नभई समान र सम्मानपूर्ण व्यवहार गर्ने तथा निरन्तर अध्ययन र सिकाइलाई प्रोत्साहन गर्ने स्वभावका नेता भएको दाबी गरेका छन्।
उनले ओलीका अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भाइरल बनाउने क्रममा सन्दर्भबाट अलग गरेर तोडमरोड गरिएको आरोपसमेत लगाएका छन्। ओलीले तथ्य र तर्कसहित आफ्नै मौलिक भाष्य र शैलीमा बोल्ने गरेको थापाको भनाइ छ।
पार्टी अध्यक्षको आलोचनालाई लिएर थापाले अहिले ओलीको शैली परिवर्तन गर्न दबाब दिनेभन्दा उनको राजनीतिक योगदान र परिस्थितिलाई बुझ्नुपर्ने धारणा राखेका छन्। ७६ वर्षको उमेरमा पुगेका ओलीले लामो राजनीतिक संघर्ष, जेल, यातना र गिरफ्तारी भोगिसकेको उल्लेख गर्दै अहिले उनलाई सहज राजनीतिक वातावरण निर्माण गर्दै सम्मानजनक नेतृत्व हस्तान्तरणको बाटो तयार गर्न समय दिनुपर्ने उनको भनाइ छ।
थापाले पछिल्लो समय एमालेले इतिहासकै ठूलो प्रहार र घेराबन्दी सामना गरिरहेको दाबी गरेका छन्। यस्तो अवस्थामा पार्टीलाई थप विभाजनतर्फ लैजानुभन्दा एकताबद्ध भएर चुनौतीको सामना गर्नुपर्ने उनको धारणा छ।
एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको प्रारम्भ तनावपूर्ण भए पनि तीन दिनको छलफलपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित हुनु महत्वपूर्ण उपलब्धि भएको थापाले बताएका छन्। उनले बैठकबाट अध्यक्ष ओलीलाई हटाएपछि मात्रै एमाले अघि बढ्न सक्छ भन्ने भाष्य गलत साबित भएको दाबी गरेका छन्।
थापाका अनुसार राजनीतिक प्रतिवेदनमा उल्लेखित दुई कार्यभार र १५ कामले पार्टीलाई सही दिशानिर्देश गरेका छन्। बैठकमा नेताहरूबीच देखिएको मतभेदसमेत अन्ततः एकतामा परिणत भएको उनको दाबी छ।
यही सन्दर्भमा थापाले ओलीको नेतृत्वप्रति पार्टीभित्र अझै बलियो स्वीकार्यता र पकड रहेको दाबी गर्दै ओली नेतृत्वबाट एमालेलाई अलग गराउने प्रयास नगर्न आग्रह गरेका छन्।
उनले आफ्नो टिप्पणीको अन्त्यमा लेखेका छन्, ‘ओलीबिनाको एमाले किमार्थ पनि सम्भव छैन । एमालेबिनाको नेपाल बनाउन चाहनेहरूको इच्छा झन् पूरा हुने छैन।’
प्रकाशित मिति : September 24, 2026 at 11:28 am




