७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

विष्णु र शंकरको आत्मसमर्पणपछि ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

७ असोज, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटी बैठकमै आत्मसमर्पण गरेपछि प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । यसअघि ओली हटाउने अभियानमा लागेका पौडेल र पोखरेल आफैँ हट्ने डरले आत्मसमर्पणको अवस्थामा पुगेका थिए ।

ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन बुधबार अध्यक्ष ओलीले प्रतिवेदनमाथि सदस्यहरूले उठाएका विषयमा स्पष्टीकरण दिएपछि प्रतिवेदन पारित गरिएको हो ।

बैठकमा पार्टी सचिवालयका सदस्य, पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए । सदस्यहरूले राखेका धारणा तथा सुझावका सन्दर्भमा अध्यक्ष ओलीले जवाफ दिएपछि प्रतिवेदन पारित गरिएको एमालेले जनाएको छ ।

बैठकमा पार्टीका पदाधिकारीहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, डा. राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतलगायतले धारणा राखेका थिए ।

त्यस्तै, आयोगका अध्यक्षहरू भरत पहारी र डा. पुष्प कँडेलसहित ठूलो संख्यामा केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आफ्ना सुझाव र धारणा राखेका थिए ।

बैठकमा परशुराम बस्नेत, पार्वत गुरुङ, पार्वती रावल, प्रेम तामाङ, प्रेम पराजुली, प्रतीक्षा तिवारी, प्रदीप कटुवाल, प्रदीप ज्ञवाली, प्रभा बराल, भगवती चौधरी, भगवती न्यौपाने, भारती पाठक, डा. भीष्म अधिकारी, भूमि त्रिपाठी, मञ्जु भण्डारी, मनोज खड्का, माधव ढुङ्गेल, मानवीर राई, राजीव पहारी, राजेन्द्र राई, राजेन्द्र गौतम, रामशरण बस्नेत, लालबाबु पण्डित, डा. विन्दा पाण्डे, विष्णु रिजाल, शान्ता चौधरी, शेरबहादुर तामाङ, सूर्य थापा, सुहाङ नेम्वाङ, रामकुमारी झाँक्री, घनश्याम खतिवडा, महेश बर्तौला, झपट बोहोरा, गुलावजङ्ग शाह, कृष्णप्रसाद जैसी, नारायण सिलवाल, अशोक ठकुरीलगायतले धारणा राखेका थिए ।

केन्द्रीय कमिटीको बैठक बिहीबार पनि जारी रहनेछ । एमालेका अनुसार बैठक बिहीबार दिउँसो १२ः३० बजे भनिमण्डलस्थित रामबाग भवनमा बस्नेछ । त्यसअघि पार्टी केन्द्रीय सचिवालयको बैठक बिहान १० बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।

प्रकाशित मिति : September 23, 2026 at 10:57 pm