प्यानल बनाएर नेतृत्व चयन गर्दाको मूल्य निर्वाचनमा चुकायौँ : सूर्य थापा
७ असोज, काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि बालेन्द्र शाह नेतृत्वको सरकारले गरेको व्यवहारलाई व्यक्तिगत विषयका रूपमा नलिन आग्रह गर्दै त्यसलाई पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको कडीका रूपमा बुझ्नुपर्ने बताएका छन्।
एमाले केन्द्रीय कमिटीको बैठकमा धारणा राख्दै थापाले अध्यक्ष ओलीमाथि भएको व्यवहारलाई एउटै र सही दृष्टिकोणबाट बुझ्न नसक्नु पार्टीको कमजोरी भएको बताए। उनले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच पछिल्लो समय देखिएको असमझदारी अन्त्य भएको संकेत गर्दै त्यसबाट पार्टीपंक्तिमा नयाँ विश्वास जागृत भएको बताए।
‘अध्यक्ष कमरेड एक कदम अगाडि र उपाध्यक्ष तथा महासचिव दुई कदम पछाडि हटेर गरिएको रियलाइजेसनले नयाँ विश्वास जागृत गरेको छ,’ थापाले भने। उनले अध्यक्ष, उपाध्यक्ष र महासचिवबीच आगामी दिनमा पुनः दूरी नबढाउन आग्रह गर्दै तीन नेताबीचको सम्बन्धलाई अंकसँग तुलना गरेका छन्।
‘तपाईंहरू ६३, ६६ वा ३३ अङ्कजस्तै लयबद्ध हुनुपर्नेमा विपरीत दिशातर्फ फर्किएको ३६ जस्तो बन्नुभएको सर्वत्र अनुभूति छ,’ उनले भने, ‘अब फेरि दुईतिर नफर्कने गरी बैठकमा गर्नुभएका सम्बोधनलाई व्यवहारमा उतार्न विनम्र अनुरोध गर्दछु।’
महाधिवेशनमा प्यानल बनाउँदाको मूल्य निर्वाचनमा चुकाएको दाबी
थापाले एमालेको निर्वाचन पराजयको एउटा महत्वपूर्ण कारण निर्वाचनको मुखमा भएको महाधिवेशनमा प्यानल बनाएर नेतृत्व चयन गरिएको विषयलाई मानेका छन्। उनले त्यसको दोष अध्यक्षमाथि मात्र थोपर्न नहुने भन्दै सबैले आत्मसमीक्षा गर्नुपर्ने बताए।
‘निर्वाचनको मुखमा भएको महाधिवेशनमा प्यानल बनाएर नेतृत्व चयन गर्दाको मूल्य हामीले निर्वाचनमा चुकायौँ,’ उनले भने, ‘त्यसमा सबैले आ–आफैलाई हेरौँ; अध्यक्षमाथि मात्र दोष थोपरेर पानीमाथिको ओभानो नबनौँ।’
पार्टीको सदस्यता नवीकरण रोक्नेदेखि ‘अध्यक्षको अनुहार लिएर जनतामा जान सकिँदैन’ भन्नेसम्मका भाष्य निर्माण गरेर पार्टीविरोधी योजनाको पछि लाग्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ।
थापाले निर्वाचन पराजयको समीक्षा गर्न गठित कार्यदलमाथि पनि प्रश्न उठाएका छन्। उनका अनुसार कार्यदलले ‘पार्टी किन पराजित भयो ?’ भन्ने प्रश्नको कारण खोज्नुभन्दा ‘को जिम्मेवार हो ?’ भन्ने पात्र खोज्न बढी केन्द्रित भएको देखियो।
कार्यदलका संयोजक र सदस्यसचिवका सार्वजनिक प्रतिवेदनमा आफूहरूले दिएका धेरै सुझाव सही रूपमा समेटिएको अनुभूति नभएको पनि उनले बताएका छन्। ‘दुई कार्यकाल र ७० वर्षे उमेरहद रामबाण होइन’
थापाले पार्टी नेतृत्व परिवर्तनलाई मात्र एमालेको समस्याको समाधानका रूपमा प्रस्तुत गर्न नहुने बताएका छन्। उनले दुई कार्यकालको व्यवस्था र ७० वर्षे उमेरहद कुनै ‘रामबाण उपचार’ नभएको टिप्पणी गरे। ‘आज नेतृत्व परिवर्तन मात्र समाधान होइन,’ उनले भने।
नेतृत्व परिवर्तन नै समाधान मान्ने हो भने पहिलो र दोस्रो पुस्ताका साथै सचिवालयका सबै नेताले तेस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने हिम्मत गर्नुपर्ने उनको तर्क छ। चौतर्फी प्रहारको अवस्थामा नेतृत्व सहज रूपमा दिएर वा लिएर मात्र पार्टी सुदृढ नहुने भन्दै थापाले कठोर परिस्थितिमा स्थापित भएर नेतृत्व निर्माण गर्नुपर्ने धारणा राखे।

लुम्बिनीबाट सुरु भएको ध्रुवीकरणको समीक्षा गर्नुपर्छ
थापाले एमालेभित्रको गुटगत ध्रुवीकरणको सुरुवात लुम्बिनी प्रदेशको पहिलो अधिवेशनबाट भएको दाबी गरेका छन्। त्यहाँ बनेका प्यानल र त्यसपछि भएका प्रदेश अधिवेशनमा देखिएको ध्रुवीकरण तथा विभाजनबाट पार्टीले शिक्षा लिनुपर्ने उनको भनाइ छ।
‘आन्तरिक रूपमा ध्रुवीकरण र प्यानलगत विभाजनबाट गुज्रिंदा निर्वाचन जित्न सकिँदैन,’ थापाले भने, ‘पार्टी एकढिक्का भई निर्वाचनमा जाने बुद्धिमत्ता र सुझबुझ बढाउनुपर्छ।’ उनले प्रतिकूल परिस्थितिलाई अनुकूलतामा बदल्नुपर्ने भन्दै मार्क्सले समाजको व्याख्या मात्र नभई परिवर्तनमा जोड दिएको प्रसंगसमेत बैठकमा उठाएका छन्।
‘ओलीलाई मार्गप्रशस्त गर्नुपर्छ भन्ने प्रस्ताव अस्वीकृत भइसकेको छ’ थापाले अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने बहसलाई पनि अस्वीकार गरेका छन्।
विभिन्न तहका बैठक तथा एघारौँ महाधिवेशनबाट अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव अस्वीकृत भइसकेको दाबी गर्दै उनले त्यसलाई निरन्तर सञ्चारमाध्यममा उठाएर राजनीतिक माहोल बनाउने प्रयास उचित नभएको बताए।
‘पार्टीलाई अन्त्यहीन बहसको डिबेट क्लबजस्तो बनाउनु हुँदैन,’ उनले भने। व्यक्ति मन पर्ने वा नपर्ने विषय अलग भए पनि महाधिवेशनको निर्णय, पार्टीको विधि र पद्धति सबैका लागि बाध्यकारी हुनुपर्ने थापाको धारणा छ।
भदौ २३–२४ को घटनामा नागरिक छानबिनको माग
थापाले भदौ २३ र २४ गते भएका घटनाबारे एमालेले एउटै साझा दृष्टिकोण निर्माण गर्नुपर्ने बताएका छन् । उपलब्ध तथ्य तथा प्रमाणका साथै सम्बन्धित आयोग, ‘ग्रेजोन’को खुलासा र मानवअधिकारसम्बन्धी प्रतिवेदनको विश्लेषण गरेर सत्यतथ्य अभिलेखीकरण गर्न निष्पक्ष नागरिक छानबिनको पहल लिनुपर्ने उनको प्रस्ताव छ। त्यसकै आधारमा पार्टीले राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने उनले बताएका छन् ।
ओली–पौडेल–पोखरेललाई ‘३६’ नबन्न थापाको आग्रह
थापाले अध्यक्ष ओली र उपाध्यक्ष पौडेल तथा महासचिव पोखरेलबीच बिग्रिएको सम्बन्धले पार्टीपंक्तिमा निराशा पैदा गरेको बताएका छन् । नौ महिनाअघि आगामी पाँच वर्ष अध्यक्ष ओलीको नेतृत्वमा अघि बढ्ने संकल्प गरेको अवस्थामा त्यसबाट विचलित हुनु गलत भएको उनको भनाइ छ।
अब नेताहरूबीचको सम्बन्धलाई व्यवहारमै सुधार गर्नुपर्ने भन्दै थापाले पार्टीको आन्तरिक विवादलाई सार्वजनिक बहसको विषय नबनाउन आग्रह गरेका छन्।
‘पार्टी र अध्यक्षविरुद्धको कुप्रचार चिराैँ
थापाले एमालेले अब आत्मनिन्दा, गुनासो र विभाजनमा ऊर्जा खर्च गर्न नहुने बताएका छन्। पार्टीको नीति, निर्णय र नेतृत्वको प्रतिरक्षा गर्दै आफ्नो पृथक राजनीतिक भाष्य स्थापित गर्नुपर्ने उनको सुझाव छ।
उनले सरकारका संविधानविरोधी र जनविरोधी गतिविधिविरुद्ध पार्टीले बोल्न, लेख्न र जनतालाई सचेत बनाउनुपर्ने बताएका छन्। पार्टीलाई एकताबद्ध, सुदृढ, क्रियाशील र जनविश्वासयुक्त बनाउँदै असफलताबाट सफलतातर्फ अघि बढ्ने संकल्प गर्नुपर्ने थापाको निष्कर्ष छ।
यस्तो छ थापाको धारणाको पूर्ण पाठ
आदरणीय अध्यक्ष कमरेड
मञ्चमा आसीन पदाधिकारी कमरेडहरू र केन्द्रीय कमिटीका सम्पूर्ण कमरेडहरू,
यसपालिको तीजमा प्रयाशी परियारको प्रस्तुति रहेको एउटा चर्चित गीतबाट आफ्नो कुरा थाल्छु-
“तिम्ले लाउली नयाँनयाँ शिरफूल,
हाम्ले गर्छम् कालीपारे भेष।”
जेठ १० गते कार्यदलको गठनदेखि आजको बैठकसम्म आइपुग्दा यो पङ्क्ति निकै सान्दर्भिक लागेको छ।किनभने यतिबेला हामी राष्ट्रिय कार्यभारमा घनीभुत छलफल गरिसकेर प्रतिस्पर्धीहरूलाई परास्त गर्ने योजना बनाई कार्यक्षेत्रमा जुटिसकेको हुनुपर्नेमा आन्तरिक समस्यामा अल्झिरहेका छौं।
अध्यक्ष कमरेडले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन आत्मसमीक्षामा आधारित, स्पष्ट र पार्टीको पुनर्जागरणलक्षित छ। दुई कार्यभार र पन्ध्र काम सही छन्।यसमा कार्यदलको प्रतिवेदनका निष्कर्ष र सुझावहरू संश्लेषण र समावेश गरिएको छ, यसको स्वागत गर्दछु। साथै, उपाध्यक्ष र महासचिव कमरेडले मिलाउनुभएको सकारात्मक लय र स्वीकारोक्तिका निम्ति धन्यवाद दिन चाहन्छु।
* अध्यक्षमाथिको बालेन सरकारले गरेको दुर्व्यवहार व्यक्तिगत थिएन; त्यो पार्टी नेतृत्वमाथिको देशीविदेशी षड्यन्त्रको विरूप कडी थियो। त्यसलाई एउटै र सही दृष्टिकोणमा नबुझ्नु कमजोरी भयो। अहिले अध्यक्ष कमरेड एक कदम अगाडि र उपाध्यक्ष तथा महासचिव दुई कदम पछाडि हटेर गरिएको रियलाइजेनले नयाँ विश्वास जागृत गरेको छ।
* खासमा निर्वाचनको मुखमा भएको महाधिवेशनमा प्यानल बनाएर नेतृत्व चयन गर्दाको मूल्य हामीले निर्वाचनमा चुकायौँ। त्यसमा सबैले आ–आफैलाई हेरौँ; अध्यक्षमाथि मात्र दोष थोपरेर पानीमाथिको ओभानो नबनौँ। सदस्यता नवीकरण रोक्न, अध्यक्षको अनुहार लिएर जनतामा जान सकिँदैन भन्नेजस्ता भाष्य बनाएर पार्टीविरोधीहरूका योजनाबद्ध दिग्भ्रमको पछि लाग्ने प्रवृत्तिको पार्टीपंङ्तिले अन्त्य चाहेको छ।
* बहुचर्चित कार्यदलले पार्टी किन पराजित भयो ?” भन्ने कारण खोज्नुपर्नेमा “को जिम्मेवार हो ?” भन्ने पात्र खोज्न केन्द्रित रह्यो।दिएका धेरै सुझाव सार्वजनिक भएका संयोजक र सदस्यसचिवका प्रतिवेदनहरूमा सहीरूपमा समेटिएनन् भन्ने अनुभूति छ।
* दुई कार्यकाल र ७० वर्षे उमेरहद कुनै रामबाण उपचार होइनन्। मलाई लाग्छ- आज नेतृत्व परिवर्तन मात्र समाधान होइन। यसो भन्ने हो भने पहिलो र दोस्रो पुस्ता तथा सचिवालयका सबैले तेस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने हिम्मत गर्नुपर्छ भन्न सकिन्छ। चौतर्फी प्रहारको घडीमा नेतृत्व सहजै दिएर वा लिएर मात्र पार्टी गुल्जार बन्दैन।कठोर अग्निपरीक्षामा खरो उत्रेर स्थापित हुने हो।नेतृत्व निर्माण, पुस्तान्तरण र हस्तान्तरणको मार्गदर्शन राजनीतिक प्रतिवेदनमा स्पष्ट आएको छ।
* मार्क्सले समाजको व्याख्या मात्र होइन, बदल्न जोड दिनुभएको छ।हामीले परिस्थितिको गन्थन गरेर मात्र पुग्दैन; प्रतिकूलतालाई अनुकुलतामा बदल्नुपर्छ। यसको वस्तुनिष्ठ समीक्षा गर्दा गुटगत ध्रुवीकरणको प्रस्थानबिन्दु लुम्बिनी प्रदेशको पहिलो अधिवेशनबाट सिर्जना भएको थियो भनेर स्वीकार गर्नुपर्छ। त्यहाँ बनेका प्यानल र त्यसपछिका प्रदेश अधिवेशनहरूमा प्रकट ध्रुवीकरण र काँक्रो चिरा विभाजनको दुर्भाग्यपूर्ण परिघटनाबाट शिक्षा लिनुपर्छ।आन्तरिक रूपमा ध्रुवीकरण र प्यानलगत विभाजनबाट गुज्रिंदा निर्वाचन जित्न सकिदैंन। तसर्थ: पार्टी एकढिक्का भई निर्वाचनमा जाने बुद्धिमत्ता र सुझबुझ बढाउनुपर्छ ।
* पार्टी अध्यक्षले मार्गप्रशस्त गर्नुपर्छ भन्ने प्रस्ताव विभिन्न तहका बैठक र एघारौँ महाधिवेशनको ७५ प्रतिशत मतबाट अस्वीकृत भइसकेपछि त्यसलाई निरन्तर मिडियामा लगेर माहोल बनाउन खोज्ने कार्य उचित होइन। पार्टीलाई अन्त्यहीन बहसको डिबेट क्लबजस्तो बनाउनु हुँदैन। व्यक्ति मन पर्ने वा नपर्ने हुन्छ, तर महाधिवेशनको फैसला, विधि र पद्धतिको कार्यान्वयन हरेकका लागि स्वेच्छिक नभएर बाध्यकारी हुनुपर्छ।
* यस बैठकले भदौ २३ र २४ का घटनाबारे पार्टीको एउटै साझा दृष्टिकोण निर्माण गर्नुपर्छ। उपलब्ध तथ्य, प्रमाण तथा सम्बन्धित आयोग, ग्रेजोनको खुलासा र मानवअधिकार सम्बन्धी प्रतिवेदनहरूको विश्लेषण गरी सत्यतथ्य अभिलेखीकरण गर्न निष्पक्ष नागरिक छानबिनको पहल लिनुपर्छ।त्यस आधारमा राष्ट्रिय दृष्टिकोण बनाइनुपर्छ।
* पार्टी अध्यक्ष र उपाध्यक्ष+ महासचिवबीच बिग्रिएको पछिल्लो सम्बन्धले पार्टीपङ्क्तिमा बढी निराशा उत्पन्न गरेको तथ्य छर्लङ्ग छ। नौ महिनाअघि आगामी पाँच वर्ष अध्यक्षको मियोअन्तर्गत अगाडि बढ्न गरेको सङ्कल्प धर्मराउनु गलत थियो। तपाईंहरू ६३, ६६ वा ३३ अङ्कजस्तै लयबद्ध हुनुपर्नेमा विपरीत दिशातर्फ फर्किएको ३६ जस्तो बन्नुभएको सर्वत्र अनुभूति छ। अब फेरि दुईतिर नफर्कने गरी बैठकमा गर्नुभएका सम्बोधनलाई व्यवहारमा उतार्न विनम्र अनुरोध गर्दछु।
अन्त्यमा, पार्टी र अध्यक्षविरुद्धको कुप्रचार चिर्दै आफ्नो पृथक भाष्य स्थापित गरौँ। पार्टीको नीति, निर्णय र नेतृत्वको प्रतिरक्षा गरौँ। आत्मनिन्दा, गुनासो र विभाजनमा ऊर्जा खेर नफालौँ। सरकारका संविधानविरोधी र जनविरोधी गतिविधिविरुद्ध बोलौँ, लेखौँ र जनतालाई सचेत बनाऔँ। पार्टीलाई एकताबद्ध, सुदृढ, क्रियाशील र जनविश्वासयुक्त बनाउँदै असफलताबाट सफलतातर्फ अघि बढ्ने संकल्प गरौं।
धन्यवाद।
– सूर्य थापा
केन्द्रीय कमिटी सदस्य
०७ असोज २०८३
प्रकाशित मिति : September 23, 2026 at 5:29 pm




