६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

त्रिपुरेश्वर घटनाले दुई गम्भीर विषय संकेत गर्छः क्रान्तिशिखा धिताल

६ असोज, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले काठमाडौंको त्रिपुरेश्वरमा भएका पछिल्ला दुई घटनाले प्रहरीको कार्यशैली र चालकहरूको मनोसामाजिक अवस्थाबारे गम्भीर प्रश्न उठाएको बताएकी छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सोमबार त्रिपुरेश्वरमा बसभित्र आगलागी हुँदा घाइते भएका चालक अर्जुन दोङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिन्। उनले परिवारप्रति समवेदना व्यक्त गर्दै आगामी दिनमा यस्ता दुःखद घटना दोहोरिन नदिन सबै पक्ष गम्भीर हुनुपर्ने बताइन्।

केही समयअघि त्रिपुरेश्वरमै यस्तै घटनामा गणेश नेपालीको ज्यान गएको स्मरण गरिन्। उनले यी दुई घटनाले मुख्यतः दुई विषयमा सोच्नुपर्ने अवस्था सिर्जना गरेको उनले बताइन्। सचेतक धितालले चालक अर्जुन दोङको निधनप्रति दु:ख व्यक्त गर्दै प्रहरीको पोलिसिङ’ शैली र चालकहरूको मनोसामाजिक स्वास्थ्यलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

dainiki.com

‘आत्महत्या वा आत्मदाहलाई महिमामण्डन गर्ने मेरो उद्देश्य होइन, तर यी दुई घटनाले हाम्रो सडक सुशासन र प्रहरीको व्यवहारमा सुधारको आवश्यकतालाई स्पष्ट संकेत गरेका छन् । बर्दी लगाएका राष्ट्रसेवकहरूप्रति उच्च सम्मान छ, तर सडकमा चालकसँग गरिने व्यवहार वा पोलिसिङ गर्ने शैलीमा कतै गम्भीर समस्या त छैन ? यदि तालिममा खोट छ भने त्यसलाई तत्काल बदल्नुपर्छ, अन्यथा यस्ता दु:खद् घटनाको सिलसिला रोकिने छैन,’ सचेतक धितालले भनिन् ।

चालकसँग धेरै यात्रुको भविष्य जोडिएको भन्दै उनीहरूको आत्मसम्मान, इज्जत, सेवा–सुविधा, तलब, खानपान तथा शारीरिक र मानसिक स्वास्थ्यमा पर्याप्त ध्यान दिनुपर्ने उनको भनाइ छ। न्यून तलब, कमजोर आत्मसम्मान, लामो समयसम्म काम गराउने र पर्याप्त आराम नदिने तथा कति कमाएर ल्यायो भन्ने विषयलाई मात्रै प्राथमिकता दिने अवस्थाबारे पनि गम्भीर रूपमा सोच्नुपर्ने उनले बताइन्।

प्रकाशित मिति : September 22, 2026 at 4:05 pm