६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

संसदमा भक्कानिँदै सांसद खतिवडाले भनिन्ः यो राजनीतिक रहर होइन, न्याय खोज्ने यात्रा हो

६ असोज, काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा प्रतिनिधिसभाकाे बैठकमा बोल्दाबोल्दै भक्कानिएकी छन् । उनी जेनजी आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाकी आमा हुन् । संसदमा बोल्दै उनले आफ्नो  संसद् यात्रा कुनै राजनीतिक रहर वा पदको लालचले नभई न्याय र खोजको यात्रा भएको बताएकी छिन् ।

‘आज यो गरिमामय संसदमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या लालचको विषय थिएन । यो मेरो न्याय खोज्ने यात्रा थियो । मेरो कोखमा नौ महिना हुर्किएको, ताते–ताते गर्दै मेरा आँखासामु बढेको मेरो मुटुको टुक्रा, त्यतिबेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रातो रगतले न्याय खोज्दै थियो । एउटा विश्वास र पवित्र यात्रा हो,’ उनले भनिन् ।

खतिवडाले छोराको मृत्युको घटनालाई न्यायको विषयका रूपमा उठाउँदै आफू संसदमा आएको बताएकी छन् । सांसद खतिवडाले आफूलाई खोज्दै रास्वपा दैलोसम्म पुगेको बताइन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले बारम्बार आग्रह गरेर म यो पदमा आएकी थिएँ । अन्य तमाम जेनजीहरूको बलिदानलाई खेर जान नदिन म सदनमा पुगेकी हुँ । देशमा यत्रो परिवर्तन आएपछि पनि सरकारले बाटो बिराउन खोज्छ भने सदनमा एउटा शहीदकी आमाले निरन्तर खबरदारी गरिरहनुपर्छ भनेर म यहाँ आएकी हुँ,’ उनले भनिन् ।

dainiki.com

उनले देशमा यत्रो ठूलो राजनीतिक परिवर्तन आएपछि पनि बाटो बिराउने वा जनतालाई सास्ती दिने पुरानै प्रवृत्ति कायमै रहेको भन्दै उनले गुनासो गरिन्। उनले थपिन्,‘यदि सरकारले बाटो बिराउँछ भने संसद्को यो रोस्टममा रहेका हरेकले खबरदारी गर्नुपर्छ।’ उनले आफ्नो पीडा र संसद् यात्रालाई लिएर गरिएका कतिपय अपमानजनक टिप्पणीप्रति आपत्ति जनाइन्।

उनले आफू जेनजी सहिदको न्यायका लागि संसदमा आएको बताउँदै न्याय पाएको दिन पद छाड्नलाई एक सेकेन्ड पनि हिचकिचाहट नहुने बताइन्। ‘यो मेरो यात्राको उद्देश्य शासकहरूले आफ्ना गलत बाटो समयमा सुधारून् भनेर हो। म आज यो रोष्टमबाट स्पष्ट पार्न चाहन्छु जुन दिन जेनजी आन्दोलनका सहिदहरूले पूर्ण रूपमा न्याय पाउँछन् त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुनेछैन। तर बिडम्बना मेरो यो पवित्र उद्देश्य र छातीको घाउ कसैले छोरोको लास माथि सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा म स्तब्ध छु,’ उनले भनिन्।

प्रकाशित मिति : September 22, 2026 at 3:38 pm