प्रधानमन्त्री शाह अमेरिका उड्दै, विमानस्थलमा तामझाम नहुने
६ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणमा यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिँदै आएको औपचारिक तामझाम नदेखिने भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज अमेरिकाको न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहलाई बिदाइ गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाइएको हो।
परराष्ट्र मन्त्रालयले असोज २ गते सम्बन्धित कार्यालय तथा निकायलाई पठाएको ‘अत्यन्त गोप्य तथा जरुरी’ पत्रमार्फत प्रधानमन्त्रीको प्रस्थान र स्वदेश फिर्तीका क्रममा भीभीआईपी लाउञ्जमा बिदाइ तथा स्वागतका लागि पदाधिकारीहरूलाई उपस्थित हुन उर्दी जारी गर्न आवश्यक नरहेको स्पष्ट गरेको छ।
प्रधानमन्त्री शाह आज अपराह्न १४ सदस्यीय प्रतिनिधिमण्डलसहित कतार एअरवेजको उडानबाट दोहा हुँदै न्युयोर्क प्रस्थान गर्नेछन्। उनी असोज १० गते काठमाडौं फर्किने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको प्रस्थान र आगमनका क्रममा सरकारी निवासबाट गाडीमा सिधै विमानस्थलको टरम्याकसम्म पुग्ने व्यवस्था मिलाइएको छ। टरम्याक विमान उडानका लागि तयारी अवस्थामा राखिने विमानस्थलको पार्किङ क्षेत्र हो।
मन्त्रालयको पत्रमा भनिएको छ, ‘प्रस्थान तथा आगमनको समयमा अति विशिष्ट कक्ष (भीभीआईपी लाउञ्ज) मा सम्माननीय प्रधानमन्त्रीज्यूको बिदाइ तथा स्वागतका लागि विशिष्ट पदाधिकारीज्यूहरूको उपस्थितिका लागि उर्दीको आवश्यकता नरहेको।’
प्रधानमन्त्रीको विदेश भ्रमण हुँदा बिदाइ र स्वागतका नाममा मन्त्रालय, सुरक्षा निकाय तथा विभिन्न सरकारी कार्यालयका उच्च अधिकारीहरू आफ्नो नियमित काम छाडेर विमानस्थल पुग्नुपर्ने अभ्यास रहँदै आएको थियो । यसपटक भने त्यस्तो औपचारिक उपस्थितिको व्यवस्था नगर्ने निर्णय गरिएको हो ।
परराष्ट्र मन्त्रालयको पत्रको बोधार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी कार्यालयलाई समेत दिइएको छ। पत्रमा शिष्टाचार महापाल कुमार खरेलले हस्ताक्षर गरेका छन्।
राज्यका उच्च पदाधिकारीको नियमित काम प्रभावित हुने गरी विमानस्थलमा हुने भीड र औपचारिक तामझाम घटाउने यो निर्णयले सरकारी कामकारबाहीमा सादगी र समयको बचत गर्ने सन्देश दिएको छ। प्रधानमन्त्री शाहको भ्रमणबाट सुरु भएको यो अभ्यास आगामी दिनमा अन्य विशिष्ट व्यक्तिको विदेश भ्रमणमा पनि लागू हुन्छ कि हुँदैन भन्ने चासोसमेत बढेको छ।
प्रकाशित मिति : September 22, 2026 at 10:26 am




