युट्युबर मनोज मानव फेरि पक्राउ
५ असोज, सिरहा । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध अपमानजनक, भ्रामक र आधारहीन सामग्री सम्प्रेषण गरेको आरोपमा युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन्।
लहान नगरपालिका–२४ का महतोलाई साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्ने कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा राष्ट्रसेवक कर्मचारीलगायतविरुद्ध बिना प्रमाण चरित्रहत्या गर्ने, धम्कीपूर्ण तथा तथ्यहीन सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

सोही पुर्जीका आधारमा खोजी गर्ने क्रममा महतोलाई उदयपुरको त्रियुगा पुलपारि एक होटलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको एसपी बासुदेव पाठकले जानकारी दिए।
प्रहरीका अनुसार महतोले आफूसँग स्वचालित हतियार रहेको र आफू पूर्वजनतान्त्रिक लडाकु भएको भन्दै धम्की दिने गरेको तथा हतियारको फोटो देखाएर केही व्यक्तिबाट आपराधिक लाभसमेत लिएको सूचना प्राप्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : September 21, 2026 at 11:12 pm




