नक्कली ३० लाख दिएर १० लाख रुपैयाँ ठगी गर्न खोज्ने दुई जना पक्राउ
५ असोज, काठमाडौं । नक्कली नोट देखाएर बढी रकम दिने प्रलोभनमा पारी ठगी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२३ का ४५ वर्षीय कृष्णप्रसाद लामिछाने र सर्लाहीको बागमती नगरपालिका–६ का ३२ वर्षीय दिनेश विक रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार शुक्रबार साँझ ५ बजे काठमाडौं महानगरपालिका( १४ बल्खुस्थित फलफूल बजारनजिक पीडितलाई बोलाई १० लाख रुपैयाँ ल्याउन लगाइएको थियो। उनीहरूले पीडितलाई १० लाख रुपैयाँको सट्टामा ३० लाख रुपैयाँ नक्कली नेपाली नोट दिने प्रलोभन देखाएका थिए ।
घटनाबारे अनुसन्धान गर्ने क्रममा खटिएको प्रहरी टोलीले बल्खुस्थित फलफूल बजारबाटै लामिछाने र विकलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : September 21, 2026 at 12:32 pm




