४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

एक महिनामै विकास बैंकको नाफा ६५ करोड ७९ लाख, कुनको कति ?

४ असोज, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा विकास बैंकहरूले ६५ करोड बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेका १७ विकास बैंकले चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा कुल ६५ करोड ७९ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । याे नाफा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा भने ५.२० प्रतिशतले कम हो । गत आर्थिक वर्षको साउन मसान्तसम्म विकास बैंकहरूले ६९ करोड ४० लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

नाफाका आधारमा मुक्तिनाथ विकास बैंक पहिलो स्थानमा छ। बैंकले साउनसम्म १३ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ। यद्यपि बैंककाे नाफा गत वर्षको तुलनामा १५.२० प्रतिशतले घटेको छ। त्यस्तै गरिमा विकास बैंकले १२ करोड ७८ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा बैंककाे नाफा ४.५४ प्रतिशतले घटेको हो ।

महालक्ष्मी विकास बैंकले भने नाफामा उल्लेख्य वृद्धि गरेको छ। बैंकले १० करोड ८२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिकाे तुलनामा बैंकको नाफा ७८.५९ प्रतिशतले बढेको हो । त्यस्तै कामना सेवा विकास बैंकको नाफा ९ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ९ करोड ५० लाख रुपैयाँ पुगेको छ।

ज्योति विकास बैंकले ८ करोड ५६ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ४ करोड ७४ लाख, मितेरी डेभलपमेन्ट बैंकले ९४ लाख ६० हजार र लुम्बिनी विकास बैंककाे ९१ लाख ४० हजार नाफा कमाएका छन् । ग्रिन विकास बैंकले ५५ लाख १० हजार रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकले १७ लाख ७० हजार, नारायणी विकास बैंकले गत वर्ष २८ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेकोमा यस वर्ष ११ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, सालपा विकास बैंक भने ५ लाख ७० हजार रुपैयाँ घाटामा रहेकाे छ । कर्पोरेट डेभलपमेन्ट बैंक १५ लाख ४० हजार, सिन्धु विकास बैंक ३८ लाख ३० हजार, कर्णाली डेभलपमेन्ट बैंक ८३ लाख ६० हजार, एक्सेल डेभलपमेन्ट बैंक ५ करोड २४ लाख ८० हजार ऋणात्मक रहेको छ । नाफा गर्ने अधिकांश बैंकको वित्तीय अवस्था सकारात्मक देखिए पनि ठूला केही बैंकको नाफामा आएको गिरावटका कारण विकास बैंकिङ क्षेत्रको कुल नाफा भने अघिल्लो वर्षको तुलनामा घटेको हो।

प्रकाशित मिति : September 20, 2026 at 3:53 pm