भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आग्रह : नेपालमा लगानी गर्ने उपयुक्त समय यही हो
३ असोज, काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । उनले नेपालमा लगानी र व्यवसाय विस्तारका लागि अहिले उपयुक्त समय रहेको भन्दै भारतीय लगानीकर्तालाई नेपालको आर्थिक रूपान्तरणमा सहभागी हुन आह्वान गरेका हुन्।
भारतको नयाँदिल्लीस्थित इन्डिया ह्याबिटाट सेन्टरमा शुक्रबार कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)ले आयोजना गरेको ‘बिजनेस एन्ड इन्भेस्टमेन्ट इन्टर्याक्सन प्रोग्राम’लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा उच्च सम्भावना भएका विभिन्न क्षेत्रमा लगानीका अवसर रहेको बताए।
उनले नेपालमा यसअघि नै लगानी गरिरहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई नेपाली बजार तथा लगानीका सम्भावना खोज्न आग्रह गरे। नेपालले आर्थिक रूपान्तरणको बाटो अघि बढाइरहेको भन्दै उनले भारतीय निजी क्षेत्रलाई यस प्रक्रियामा साझेदार बन्न आह्वान गरे।
अर्थमन्त्री वाग्लेले सरकारले सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण तथा संरचनागत आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राखेको बताए। लगानीको वातावरणलाई थप पारदर्शी, पूर्वानुमानयोग्य र लगानीमैत्री बनाउन नीतिगत सुधारलाई तीव्रता दिइरहेको उनको भनाइ थियो।

उनका अनुसार डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यका कृषि उत्पादन, वेलनेस पर्यटन तथा उत्पादन साझेदारीको अवधारणामा आधारित उत्पादनमूलक उद्योग नेपालका अर्थतन्त्रका उदीयमान क्षेत्र हुन्। नेपाललाई केवल बजारका रूपमा नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि तथा क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृंखलामा जोडिने रणनीतिक साझेदारका रूपमा हेर्न उनले भारतीय व्यवसायीलाई आग्रह गरे।
अर्थमन्त्री वाग्लेले सरकारले वार्षिक बजेट, कर सुधार तथा लगानीमैत्री नीतिगत व्यवस्थामार्फत व्यवसायिक वातावरण सुधार गर्ने, लगानीका अवरोध घटाउने र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि हासिल गर्ने प्रयास गरिरहेको जानकारी दिए।
उनले नेपाल–भारतबीच लामो समयदेखि कायम आर्थिक सम्बन्धलाई थप लगानी र व्यापार विस्तारको आधारका रूपमा प्रस्तुत गर्दै लगानी, उत्पादन, ऊर्जा, पर्यटन, कृषि, डिजिटल अर्थतन्त्रलगायतका क्षेत्रमा सहकार्य विस्तारको पर्याप्त सम्भावना रहेको बताए।
कार्यक्रममा सहभागी भारतीय उद्योगी तथा व्यवसायीहरूले नेपालमा लगानी र व्यवसायका अवसरबारे चासो व्यक्त गरेका थिए। उनीहरूले नेपालको लगानी नीति, प्रोत्साहन, विभिन्न क्षेत्रका अवसर तथा व्यवसायिक वातावरणबारे अर्थमन्त्री वाग्लेसँग जानकारी लिएका थिए।

सीआईआईको आयोजनामा भएको उक्त अन्तरक्रियाले नेपाल सरकार र भारतीय निजी क्षेत्रबीचको सम्बन्ध थप सुदृढ गर्ने तथा नेपालमा भारतीय लगानी र व्यावसायिक सहकार्यका नयाँ सम्भावना पहिचान गर्ने अवसर प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री वाग्लेको तीनदिने भारत भ्रमणको तेस्रो तथा अन्तिम दिन उक्त कार्यक्रम आयोजना गरिएको हो। भ्रमणका क्रममा उनले भारतीय सरकारी अधिकारी, व्यवसायी तथा नीति क्षेत्रका प्रतिनिधिसँग नेपाल–भारत आर्थिक सम्बन्ध, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा विपद्पछिको पुनर्निर्माणलगायतका विषयमा छलफल गरेका थिए।
प्रकाशित मिति : September 19, 2026 at 11:00 am




