३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

वैदेशिक रोजगारीका नाममा अशुली धन्दा चलाउने पत्रकार बालिका शिवाकोटीसहित दुई जना पक्राउ

३ असोज, काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम तथा पदको दुरुपयोग गरी इजरायलमा केयर गिभरका रूपमा रोजगारीमा पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ घर भएका ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटी रहेका छन्। पक्राउ परेका चौलागाईं कांग्रेसको नेता हुन भने शिवाकोटी कांग्रेसकै पत्रकारहरूको संस्था प्रेस युनियनको केन्द्रीय सदस्य हुन । उनी पत्रकार पनि हुन ।

प्रहरीका अनुसार नेपाल सरकार र इजरायल सरकारबीच भएको Government to Government (G to G) सम्झौताअनुसार इजरायलमा केयर गिभरका रूपमा नेपाली कामदार पठाउने प्रक्रियाअन्तर्गत नेपाल सरकारले सन् २०२४ मा सञ्चालन गरेको परीक्षामा सहभागी भई लक्की ड्रमा छनोट हुन नसकेका व्यक्तिहरूलाई लक्षित गरी ठगी गरिएको हो।

चौलागाईं, सिवाकोटीलगायतका व्यक्तिहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गर्दै लक्की ड्रमा नपरेका १५६ जनालाई इजरायल पठाइदिने भन्दै विश्वास दिलाएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनीहरूले प्रति व्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम लिएका थिए। यसरी पीडितहरूबाट जम्मा २ करोड ५० लाख रुपैयाँ लिएर बेइमानीपूर्वक ठगी गरेको भन्दै कानुनी कारबाहीका लागि पीडितहरूले जाहेरी दिएका थिए।

जाहेरीका आधारमा प्रहरीले दुवै जनालाई २०८३ साल असोज १ गते पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गतको ठगीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं जिल्ला अदालतबाट कानुनबमोजिम म्याद थप अनुमति लिएर पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरू तथा ठगीमा प्रयोग भएका माध्यम र रकमको कारोबारबारे समेत अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रकाशित मिति : September 19, 2026 at 9:08 am