२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

अशुली धन्दामा लागेका कांग्रेस नेता भरत चौलागाईं पक्राउ

२ असोज, काठमाडौँ । उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग गरी रकम असुली गर्न खोजेको आरोपमा नेपाली कांग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाईं पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौलागाईंलाई बिहीबार साँझ रामेछापको मन्थलीबाट पक्राउ गरेको हो । कांग्रेसको १५औँ महाधिवेशनको तयारीसम्बन्धी बैठकमा सहभागी हुन मन्थली पुगेका उनलाई सोही क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।

सीआईबीका अनुसार उच्च पदस्थ व्यक्तिहरूको नाम लिएर रकम असुलीका लागि कुराकानी तथा ‘डिल’ गरेको भनिएको अडियो फेला परेपछि चौलागाईंमाथि अनुसन्धान अघि बढाइएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा केही प्रमाण फेला परेको र त्यसको सत्यतथ्य पत्ता लगाउन उनलाई नियन्त्रणमा लिइएको सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीले बताएका छन् ।

पक्राउ परेका चौलागाईंलाई काठमाडौं ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । प्रहरीले बरामद भएको भनिएको अडियोमा भएको कुराकानीको वास्तविकता, त्यसमा उल्लेख गरिएका उच्च पदस्थ व्यक्तिहरूको नाम तथा रकम असुलीका लागि भनिएका कारोबारमा चौलागाईंको भूमिकाबारे अनुसन्धान गरिरहेको छ ।

अडियोसहित प्राप्त अन्य प्रमाणको प्राविधिक परीक्षण तथा थप अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता यकिन हुने प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा थप व्यक्ति तथा प्रमाणसमेत फेला पर्न सक्ने सीआईबीले जनाएको छ ।

यसअघि पनि बैंकिङ कसुरको जाहेरी

चौलागाईंविरुद्ध यसअघि पनि बैंकिङ कसुरसम्बन्धी जाहेरी परेको थियो। ललितपुरको महालक्ष्मी नगरपालिका–८ का सानुभाइ थापाले २०८० मंसिरमा उनीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएका थिए।

थापाका अनुसार चौलागाईंले दिएको ८० लाख रुपैयाँको चेक बाउन्स भएपछि उनले प्रहरीमा जाहेरी दिएका थिए। त्यसैगरी जग्गा कारोबारका लागि चौलागाईंले आफूसँग ३ करोड ९२ लाख रुपैयाँ लिएको पनि थापाले जाहेरीमा उल्लेख गरेका थिए।

थापाले ८० लाख रुपैयाँको चेकबाहेक चौलागाईंले दिएको ३ करोड १२ लाख रुपैयाँको अर्को चेकसमेत बाउन्स भएको दाबी जाहेरीमा गरेका थिए।

रामेछापको सुनापति गाउँपालिका–१ निवासी चौलागाईं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन्। अहिलेको पक्राउ भने उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग गरी रकम असुली गर्न खोजेको भनिएको अडियो र त्यससम्बन्धी प्रमाणमाथिको अनुसन्धानसँग सम्बन्धित रहेको सीआईबीले जनाएको छ।

प्रकाशित मिति : September 18, 2026 at 9:52 am