उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय
३१ भदौ, काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय गरेको छ। भोटेकोशीमा बाढी र त्यसपछिको खोजी तथा उद्धार, राहत तथा पुनर्स्थापना र पुनर्निर्माणमा समेत छलफल गर्ने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिने निर्णय भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
उनका अनुसार बाढीपछि लगातार बस्दै सर्वदलीय बैठकलाई नै सर्वदलीय संयन्त्रका रूपमा दिगो बनाइने निर्णय भएको हो। लामिछानेको नेतृत्वको संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी, जसपा नेपाल समावेश हुनेछन् । यसमा राष्ट्रिय जनमोर्चालाई पनि समावेश गर्ने गरी संयन्त्रमा रहन अनुरोध गर्ने निर्णय भएको खरेलले जानकारी दिए ।

सर्वदलीय बैठकले तत्कालै एक हप्ताभित्र संसदीय समिति बनाउने र त्यो समितिमा सबै दलहरूको संसद्मा प्राप्त सिटको सङ्ख्याको आधारमा प्रतिनिधित्व रहने खरेलले बताए। आजको बैठकमा भोटेकोशी बाढीले पुर्याएको क्षति र जनधनको क्षति अनि त्यसमा खोजी, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माण सम्मको प्रक्रियामा सरकारको नेतृत्वमा अहिलेसम्म भइरहेको काम, राजनीतिक दलहरूले पुर्याइरहेको योगदान र राज्यका विभिन्न निकायबाट भइरहेको कामको सन्दर्भमा गहन समीक्षा र छलफल भएको प्रवक्ता खरेलले बताए। बैठकले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाह सहभागी हुन लागेको विषयमा पनि छलफल गरेको छ।
प्रकाशित मिति : September 16, 2026 at 3:03 pm


