३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

बैंकमा पैसा थुप्रिएपछि फेरि ३० दिनका लागि ६० अर्ब तान्दै राष्ट्र बैंक

३१ भदाै, काठमाडौं। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले फेरि ६० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले ३० दिनका लागि निक्षेप संकलन गर्न लागेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार ६० अर्ब रुपैयाँ निक्षेप संकलनका लागि बुधबार दिउँसो ३ बजे बोलकबोल हुनेछ। बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोलमा सहभागी हुनुपर्नेछ।

बोलकबोलबाट निर्धारण हुने ब्याजदरमा निक्षेप सङ्कलन गरिनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी असोज ३० गते हुनेछ ।  नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र उक्त बोलकबोलमा सहभागी हुन पाउनेछन् । बोलकबोलमा निक्षेपकर्ताले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ ।  बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ देखि अधिकतम १० करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने छ ।

बोलकबोलमा राष्ट्र बैंकले आह्वान गरेको रकममध्ये सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि क्रमशः बढी ब्याजदर प्रस्ताव गर्ने बोलपत्रलाई आह्वान गरिएको कुल रकमसम्म बाँडफाँट गरिनेछ। समान ब्याजदरमा कुल आह्वान रकमभन्दा बढी माग परेमा त्यस्ता बोलपत्रलाई प्रो-राटा आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : September 16, 2026 at 12:32 pm