२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

अपर त्रिशूली–१को उद्धारमा सफाइमा सुमन पाण्डेले पठाए १६ हिमाली पथप्रदर्शक

२१ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पर्यटन व्यवसायी सुमन पाण्डेले रसुवास्थित २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत आयोजनामा बाढीले पुर्‍याएको क्षतिको उद्धार, व्यवस्थापन तथा सरसफाइका लागि १६ जना हिमाली पथप्रदर्शकको टोली फिल्डमा खटाएका छन्।

पाण्डेले आयोजनाको माग अनुसार जोखिमपूर्ण भूगोलमा काम गर्न अभ्यस्त १६ जना हिमाली पथप्रदर्शकलाई आवश्यक परामर्श र तयारीपछि आयोजनाको प्रभावित क्षेत्रमा पठाएका हुन् । टोलीले बाढीका कारण क्षतिग्रस्त संरचना तथा आयोजनाको क्षेत्रमा उद्धार, व्यवस्थापन र सरसफाइका काममा सहयोग गर्नेछ । यहीबाट शनिबारमात्र एक चिनियाँको ११ दिनपछि जिवितै उद्धार गरिएको थियो ।

गत भदौ १० गते रसुवा–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीले अपर त्रिशूली–१ आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। आयोजनाका अनुसार बाढीले हेडवर्क्स अर्थात् बाँध क्षेत्र, विभिन्न संरचना, कार्यालय तथा आवासीय क्षेत्रसमेत बगाएको छ।

बाढीपछि आयोजनामा ठूलो संख्यामा कामदार तथा कर्मचारी सम्पर्कविहीन भएका थिए । उद्धार तथा खोजीका लागि नेपाली सुरक्षाकर्मीका साथै आयोजनासँग सम्बन्धित विदेशी प्राविधिक तथा उद्धार टोलीसमेत परिचालित भएका छन् । पछिल्ला दिनमा आयोजनामा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत जनाएका छन् ।

पाण्डेले यसअघि पनि बाढीपहिरो प्रभावित क्षेत्रमा राज्यको खोज तथा उद्धार र राहत व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै सरकारको ‘सौतेनी व्यवहार’को विरोध गरेका थिए । त्यसपछि आलोचनामा मात्रै सीमित नरही आफूले सक्ने ठाउँबाट प्रत्यक्ष सहयोग गरिरहेका छन । यहाँ पनि उनले आयोजनाले माग गरेपछि हिमाली पथप्रदर्शकको टोली परिचालन गरेका हुन ।

पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय पाण्डेले हिमाली भूगोल र जोखिमपूर्ण क्षेत्रमा काम गर्ने जनशक्तिको अनुभवलाई उद्धार तथा व्यवस्थापनमा उपयोग गर्न खोजेका हुन् । सामान्य उद्धार टोलीका लागि कठिन हुन सक्ने भौगोलिक अवस्थामा हिमाली पथप्रदर्शकको अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ।

ठूलो विदेशी लगानीको आयोजना

अपर त्रिशूली–१ रसुवाको त्रिशूली नदीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको ‘रन अफ द रिभर’ जलविद्युत आयोजना हो। यसको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि हो। आयोजनामा तीनवटा ७२ मेगावाटका युनिट रहनेछन् । आयोजनाको वार्षिक ऊर्जा उत्पादन करिब १,४५६ गिगावाट घण्टा हुने गरी विद्युत खरिद सम्झौता गरिएको छ।

आयोजनामा २९.५ मिटर अग्लो बाँध, भूमिगत डिस्यान्डर, करिब ९.८ किलोमिटर लामो हेडरेस टनेल, सर्ज ट्यांक र भूमिगत पावरहाउस निर्माण हुँदैछ। आयोजनाको मुख्य निर्माण सन् २०२२ बाट सुरु भएको हो ।

अपर त्रिशूली–१ नेपालमा विदेशी लगानीमा निर्माण भइरहेको महत्वपूर्ण जलविद्युत आयोजनामध्ये एक हो। अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी), एसियाली विकास बैंक (एडीबी) र एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लगायतका अन्तर्राष्ट्रिय वित्तीय संस्थाको समेत आयोजनामा लगानी/वित्तीय सहभागिता रहेको छ।

बाढीले आयोजनाको निर्माण संरचनामै ठूलो क्षति पुर्‍याएपछि अहिले तत्कालीन प्राथमिकता मानवीय खोज तथा उद्धार, प्रभावित क्षेत्रको व्यवस्थापन र क्षतिग्रस्त संरचनाको सरसफाइ बनेको छ। यही अवस्थामा पाण्डेको पहलमा १६ सदस्यीय हिमाली पथप्रदर्शक टोली परिचालन भएको हो।

प्रकाशित मिति : September 6, 2026 at 5:49 pm