इन्फिनिटी लघुवित्तद्वारा नीति, नियम तथा अनुपालनसम्बन्धी देशव्यापी प्रशिक्षण
२१ भदौ, काठमाडौं । इन्फिनिटी लघुवित्तले देशभरका शाखा कार्यालयमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै संस्थागत नीति, प्रक्रिया तथा अनुपालन सम्बन्धी ज्ञानलाई थप प्रभावकारी बनाउने उद्देश्यले संस्थागत नीति तथा अनुपालनसम्बन्धी पुनर्ताजगी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले भदौ २० र २१ गते देशभरका १५ वटा स्टेशनमार्फत १०२ वटा शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखदेखि फिल्ड सहायक कर्मचारीसम्मलाई सहभागी गराई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा केन्द्रीय कार्यालयका पदाधिकारी तथा विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो भने तालिमको प्रशिक्षण तथा सहजीकरण सम्बन्धित अनुगमन अधिकृतहरूले गरेका थिए ।
तालिमका क्रममा संस्थाको कर्जा तथा बचत नीति, असुली नीति, कार्यान्वयनका प्रमुख प्रावधान, ग्राहक संरक्षण तथा संस्थागत सामाजिक उत्तरदायित्व लगायतका विषयमा कर्मचारीहरूलाई पुनर्ताजगी गराइएको थियो । साथै, शाखा तथा कार्यक्षेत्रमा देखिने व्यावहारिक समस्या, तिनका समाधानका उपाय तथा कार्यप्रणालीमा आवश्यक सुधारका विषयमा सहभागीहरूसँग अन्तरक्रियात्मक छलफल गरिएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनका प्रमुख प्रावधान, संस्थाका आन्तरिक परिपत्र तथा तिनको प्रभावकारी कार्यान्वयन सम्बन्धी विषयमा समेत जानकारी तथा मार्गदर्शन प्रदान गरिएको थियो ।
यस क्रममा कर्मचारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपनाउनुपर्ने संस्थागत प्रक्रिया, नीति तथा अनुपालन सम्बन्धी आवश्यक जानकारी प्राप्त गर्नुका साथै कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विषयमा मार्गदर्शन प्राप्त गरेका थिए ।
तालिममा सहभागी कर्मचारीहरूले आफ्ना कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित विषयमा छलफल तथा अन्तरक्रिया गर्न पाउँदा कार्यक्रम उपयोगी र व्यावहारिक रहेको प्रतिक्रिया दिएका छन् । नीति तथा अनुपालनका विषयमा रहेका जिज्ञासा समाधान हुनुका साथै दैनिक कार्यसम्पादनमा थप स्पष्टता र प्रभावकारिता ल्याउन सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।
विशेषगरी कार्यक्षेत्रमा देखिने व्यावहारिक समस्या र त्यसको समाधानका विषयमा खुला छलफल हुनुले कर्मचारीहरूमा थप आत्मविश्वास र जिम्मेवारीबोध बढाएको महसुस गरिएको थियो । १५ वटा स्टेशनमार्फत देशभरका १०२ शाखामा कार्यरत ३४३ कर्मचारीलाई समेटिएको उक्त कार्यक्रमले संस्थागत सुशासन, नीति तथा अनुपालनमा स्पष्टता, जिम्मेवार सेवा प्रवाह र कार्यप्रणालीमा एकरूपता कायम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । साथै, व्यावहारिक समस्या, समाधानका उपाय तथा कार्यप्रणाली सुधारबारे गरिएको अन्तरक्रियाले कर्मचारीहरूको कार्यसम्पादन र प्रभावकारिता बढाउन योगदान गर्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति : September 6, 2026 at 4:39 pm


