२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

पीडितलाई हियाउने र थप पीडा दिनेहरू अपराधी हुन, सरकार निर्मम हुन्छ : प्रधानमन्त्री बालेन

२० भदौ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बाढीपीडित तथा आफन्त गुमाएर शोक र पीडामा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरूलाई अपराधीको संज्ञा दिएका छन्।

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीलगायत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहेका बेला सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पीडित नागरिकको आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । उनले पीडामा रहेका मानिसमाथि थप चोट पुर्‍याउने कुनै पनि गतिविधिप्रति सरकार निर्मम बन्ने चेतावनी दिएका छन्।

“एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो,” प्रधानमन्त्री शाहले भनेका छन्, “हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ।”

उनले संवेदनशील घडीमा परिवार, आफन्त, घरबार र सम्पत्ति गुमाएका नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने तथा हियाउने प्रवृत्ति अस्वीकार्य भएको बताएका छन्। “यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ,” प्रधानमन्त्री शाहले चेतावनी दिएका छन्।

प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यको खोज तथा उद्धार अभियान अझै जारी रहेको पनि बताएका छन्। उनका अनुसार नुवाकोटको विदुर–१० बेत्रावतीमा सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले शनिबार ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको घटनाले खोज तथा उद्धार कार्यमा अझै आशा जीवित रहेको सन्देश दिएको छ।

उनले बाढी प्रभावित क्षेत्रमा वृद्धवृद्धाले भोगिरहेको पीडा र अवस्थाप्रति सरकार गम्भीर रहेको उल्लेख गरेका छन्। बाढीका कारण विस्थापित भएका तथा वृद्धाश्रमबाट समेत भाग्न बाध्य भएका ज्येष्ठ नागरिकलाई अस्थायी आश्रय, स्वास्थ्य सेवा, ह्वीलचियर, वाकर तथा मनोसामाजिक परामर्शको व्यवस्था गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रधानमन्त्रीका अनुसार नुवाकोटको देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान र विदुर भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका सात जना ज्येष्ठ नागरिकलाई काठमाडौंको नेपाल सिनियर केयर म्हैपीमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ।

बाढीमा आफ्ना परिवारका सदस्य, घर, सम्पत्ति र जीवनभरको कमाइ गुमाएका नागरिकको आक्रोशलाई सरकारले नकारात्मक रूपमा नलिने उनले स्पष्ट पारेका छन्। बरु उनीहरूको पीडा सुन्नु र राहत तथा पुनःस्थापनामा प्रभावकारी ढंगले काम गर्नु राज्यको दायित्व भएको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका नागरिकलाई आफूलाई एक्लो नठान्न आग्रह गर्दै सरकार र राज्य उनीहरूको साथमा रहेको बताएका छन्। अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर प्रभावित नागरिकको सुरक्षित बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

यसैबीच, बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रमा सुरक्षाकर्मीहरू अझै पनि जोखिम मोलेर खोज तथा उद्धारमा खटिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरेका छन्।

“हामीमाथि भरोसा राख्नुहोस्,” प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकलाई सम्बोधन गर्दै भनेका छन्।

प्रकाशित मिति : September 5, 2026 at 8:17 pm