१८ भदौ २०८३, बिहिबार | Fri Sep 4 2026

बाढीको क्षति विश्वमञ्चमा उठाउन प्रधानमन्त्री बालेन राष्ट्रसंघको महासभामा जाने

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका छन् ।

नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो विपद्का विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री शाह महासभामा सहभागी हुन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले महासभामा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने तयारी भइरहेको छ । भ्रमणको औपचारिक निर्णय भने भइसकेको छैन । प्रधानमन्त्रीको भ्रमणबारे आवश्यक तयारी अघि बढाउन परराष्ट्र मन्त्रालयअन्तर्गतको सम्बन्धित महाशाखा तथा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगलाई तयारी थाल्न निर्देशन दिइएको स्रोतले जनाएको छ ।

यसअघि सरकारले महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको थियो । गत ३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले खनाल नेतृत्वको प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुन स्वीकृति दिएको थियो ।

तर भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री स्वयं महासभामा सहभागी भएर नेपालले भोगेको विपद् र जलवायु संकटका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने माग बढेको थियो । सोही पृष्ठभूमिमा प्रधानमन्त्री शाहको भ्रमणको तयारी अघि बढाइएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हुनेछ ।

 

प्रकाशित मिति : September 3, 2026 at 11:14 pm