प्रधानमन्त्री बालेन र उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङबीच भेटवार्ता, के भयो छलफल ?
१८ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा भदौ १० गतेको रसुवा बाढी, उद्धार कार्य र आगामी कार्यदिशाका बारेमा विस्तृत छलफल भएकाे घिसिङले जानकारी दिए ।
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री घिसिङले आफूहरूले फिल्ड भिजिटका क्रममा देखेका र बुझेका विषयमा सरकारलाई लिखित तथा मौखिक सुझाव दिएको जानकारी दिए । ‘हामीले लिखित र मौखिक सुझाव दिएका छौं,’ उनले भने, ‘अहिलेको विपद्को अवस्थामा विशेष गरेर रेस्क्यु, रिलिफ र रिसेटलमेन्ट विषयमा हामीले समग्र रूपमा सरकारलाई सुझाव दिने काम भएको छ ।’

भेटका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले विशेषगरी सुरुङमा फसेका व्यक्तिहरूको उद्धार कसरी गर्ने भन्ने विषयमा गम्भीर चासो व्यक्त गरेका थिए । घिसिङ नेतृत्वको टोलीले सुरुङमा फसेका नागरिकको उद्धारका लागि गर्नुपर्ने कामबारे बताएपछि प्रधानमन्त्रीले पनि जुन सुकै अवस्थामा पनि उद्धारको काम अघि बढाउने जवाफ दिएका थिए ।प्रधानमन्त्री शाहले नेपालको क्षमताले भ्याएसम्म र आवश्यक परे विदेशबाट प्रविधि ल्याएर भए पनि उद्धार कार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित मिति : September 3, 2026 at 1:23 pm


