१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

रसुवा बाढीः बीमा कम्पनीहरूमा २५ अर्बभन्दा बढीको दाबी, एउटै कम्पनीमा १३ अर्ब

१६ भदाै, काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म निर्जीवन बीमा कम्पनीमा करिब २६ अर्ब रुपैयाँको बीमा दाबी पेश भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार मंगलबारसम्म १५ वटा निर्जीवन कम्पनीमा २५ अर्ब ८७ करोड रुपैयाँ दाबी पेश भएको हो ।

प्राधिकरणले भदौ १५ गतेसम्म सङ्कलन गरेको विवरण अनुसार कुल ५८३ वटा बीमालेखमार्फत क्षतिपूर्तिको दाबी परेको हो । इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा सबैभन्दा बढी दाबी परेको छ । यसअन्तर्गत २० अर्ब ५० करोड ७७ लाख रुपैयाँको दाबी परेको छ । जुन कुल दाबी रकमको ७९.२६ प्रतिशत हो ।

dainiki.com

त्यसैगरी, दोस्रोमा सम्पति बीमाअन्तर्गत ११३ बीमितको २ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ दाबी परेको छ । मोटर बीमाअन्तर्गत ३१३ बीमालेखको १ अर्ब ५५ करोड ९ लाख रुपैयाँ, परिवहन बीमाअन्तर्गत ४७ वटा बीमालेखको ८९ करोड ७७ लाख रुपैयाँ, अन्य बीमाअन्तर्गत ५४ वटा बीमालेखको ५२ करोड ९२ लाख रुपैयाँ र स्वास्थ्य बीमाअन्तर्गत ४ वटा बीमालेखको ४ करोड १६ लाख रुपैयाँ दाबी परेका छन् ।

जसमध्ये सबैभन्दा ठूलो प्रारम्भिक दाबी द ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ। कम्पनीमा ८ वटा बीमालेखबाट १३ अर्ब ४ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ३८ बीमालेखबाट ४ अर्ब ९७ करोड ४८ लाख ७२ हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा १०२ बीमालेखबाट २ अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ बीमालेखबाट १ अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ बराबरको दाबी परेको छ।

त्यसैगरी, शिखर इन्स्योरेन्समा १२७ बीमालेखबाट १ अर्ब ८७ करोड ५४ लाख ५९ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ४५ बीमालेखबाट ६४ करोड ७८ लाख २० हजार रुपैयाँ र नेको इन्स्योरेन्समा ६६ बीमालेखबाट ५१ करोड ७० लाख ३७ हजार रुपैयाँ बराबरको दाबी परेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ बीमालेखबाट २४ करोड २३ लाख २७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्समा ३२ बीमालेखबाट २३ करोड ८६ लाख ४५ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २६ बीमालेखबाट १८ करोड ७३ लाख ४ हजार रुपैयाँ बराबरको दाबी परेको छ।

एनएलजी इन्स्योरेन्समा २१ बीमालेखबाट ११ करोड ३१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा १४ बीमालेखबाट ३ करोड १२ लाख ८ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा २ बीमालेखबाट ७६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा २ बीमालेखबाट ५३ लाख ३५ हजार रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा १ बीमालेखबाट ५ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

प्रकाशित मिति : September 1, 2026 at 2:26 pm