डिजिटल कारोबारमा राष्ट्र बैंकको चेतावनीः सही व्यक्ति र सही खातामा मात्र रकम पठाउनू
१६ भदाै, काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेटजस्ता वित्तीय सेवाको प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। राष्ट्र बैंकको ‘वित्तीय चेतनाका लागि’ सन्देशमार्फत डिजिटल वित्तीय सेवाले वित्तीय कारोबारलाई सहज, छिटो र सुरक्षित बनाए पनि यसको प्रयोग गर्दा व्यक्तिगत विवरणको सुरक्षामा ध्यान दिन आग्रह गरिएको हो।
राष्ट्र बैंकका अनुसार डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सही व्यक्ति र सही खातामा मात्र कारोबार भएको सुनिश्चित गर्नुपर्नेछ। रकम स्थानान्तरण वा अन्य प्रयोजनका लागि कसैलाई भुक्तानी गर्नुपर्दा सम्बन्धित व्यक्तिको नाम, खाताको नाम, खाता नम्बर, मोबाइल नम्बर तथा भुक्तानीको प्रयोजनलगायत विवरण यकिन गरेर मात्र कारोबार गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, कुनै गलत वा अनधिकृत कारोबार भएको थाहा पाएमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सेवा प्रदायकलाई जानकारी गराई आवश्यक सुरक्षा तथा रोकथामका उपाय अपनाउन राष्ट्र बैंकले सुझाव दिएको छ। राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको प्रयोग बढेसँगै बैंकिङ कारोबारमा हुने ठगी तथा अनधिकृत कारोबारबाट जोगिन ग्राहक स्वयं सचेत हुनुपर्नेमा जोड दिएको छ। ‘सजग बनौँ, सुरक्षित रूपमा डिजिटल वित्तीय सेवा प्रयोग गरौँ’ भन्दै राष्ट्र बैंकले डिजिटल बैंकिङ तथा वालेट प्रयोगकर्तालाई सावधानी अपनाउन आग्रह गरेको हो।
प्रकाशित मिति : September 1, 2026 at 1:34 pm


