१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

बाढीबाट प्रभावित सूचीकृत कम्पनीको अवस्था र कारोबारमा निगरानी राख्न धितोपत्र बोर्डको निर्देशन

१६ भदाै, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रसुवा बाढीका कारण जलविद्युत् आयोजनाहरूमा पुगेको क्षतिको यथार्थ विवरण तत्काल सार्वजनिक गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ ।

विशेष गरी त्रिशूली र भोटेकोशी नदी प्रणालीमा सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति पुगेको सन्दर्भलाई जोड्दै बोर्डले लगानीकर्ताको हित संरक्षण र बजारको पारदर्शिताका लागि यस्तो कदम चालेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै बोर्डले प्रभावित कम्पनीहरूको विस्तृत सूची तयार गरी तत्काल जानकारी गराउन नेप्सेलाई पत्राचार गरेको छ ।

बोर्डले जारी गरेको निर्देशनमा प्रभावित कम्पनीहरूले आफ्नो आयोजनाको नाम, स्थान, विपद्को प्रकृति, र आयोजनामा भएको प्रारम्भिक भौतिक क्षतिको विवरण आधिकारिक माध्यमबाट सार्वजनिक गर्नुपर्ने उल्लेख छ । साथै विद्युत् उत्पादन बन्द भएको वा प्रभावित भएको अवस्था, अनुमानित उत्पादन क्षमतामा आएको ह्रास, मानव संशाधनमा भएको क्षति, र प्रसारण तथा वितरण पूर्वाधारमा परेको प्रभावबारे पनि स्पष्ट पार्न भनिएको छ ।

dainiki.com

यसैगरी, आयोजना बीमित भए वा नभएको अवस्था, बीमा कम्पनीमा दाबी गरिएको वा नगरिएको विवरण, प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनःसञ्चालन हुन सक्ने अनुमानित समय, बैंक ऋण तथा ऋण तिर्ने क्षमतामा पर्न सक्ने सम्भावित असर र कम्पनी व्यवस्थापनले तत्काल चालेका कदमसमेत सार्वजनिक गर्नुपर्ने बोर्डले जनाएको छ।

 प्राकृतिक विपत्तिको समयमा बजारमा हुनसक्ने अस्वाभाविक चलखेललाई रोक्न बोर्डले नेप्सेलाई विशेष निगरानी राख्न समेत सचेत गराएको छ । प्रभावित कम्पनीहरूको सेयर कारोबारमा हुनसक्ने अस्वाभाविक मूल्य परिवर्तन, कारोबार परिमाणमा आउने असामान्यता, र महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि हुनसक्ने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) लाई नजिकबाट अनुगमन गर्न भनिएको छ ।

बजारको निष्पक्षता र पारदर्शितामा असर पार्न सक्ने कुनै पनि शंकास्पद गतिविधि देखिएमा त्यसको निरन्तर निगरानी गरी नियमित रूपमा बोर्डलाई प्रतिवेदन उपलब्ध गराउन समेत निर्देशन दिइएको छ । यस्ता घटनाहरूबाट प्राप्त अनुभवका आधारमा भविष्यमा आइपर्ने प्राकृतिक विपद्, आगलागी वा भूकम्प जस्ता असामान्य परिस्थितिमा सूचीकृत कम्पनीहरूले पालना गर्नुपर्ने सूचना प्रवाह, कारोबार रोक्का वा पुनः सञ्चालन सम्बन्धी दीर्घकालीन कार्यविधि समेत बोर्डले तयार गर्ने भएको छ ।

प्रकाशित मिति : September 1, 2026 at 11:43 am