प्रधानमन्त्री राहत कोषका नाममा ठगीको जोखिम, राष्ट्र बैंकले गरायो सचेत
१५ भदाै, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने नाममा नक्कली बैंक खाता तथा क्यूआर कोड प्रयोग गरी ठगी हुनसक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको छ।राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सोमबार सूचना जारी गर्दै विपद्को समयमा कोषमा रकम जम्मा गर्ने बहानामा अनधिकृत रूपमा रकम संकलन तथा ठगी भइरहेको घटना सार्वजनिक भएकाले यसप्रति विशेष सतर्क रहन आग्रह गरेको हो।
राष्ट्र बैंकले कोषमा सहयोग रकम पठाउनुअघि बैंक खाता तथा क्यूआर कोडको विवरण अनिवार्य रूपमा यकिन गर्न आग्रह गरेको छ। मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएस वा अन्य कुनै माध्यमबाट रकम पठाउँदा खाताको नाम ‘Prime Minister Disaster Relief Fund’ रहेको सुनिश्चित गर्न राष्ट्र बैंकले भनेको छ।

त्यस्तै, रकम प्रविष्ट गरेपछि पुनः रकम पठाउनुअघि विवरण रुजु गर्न र कोषको आधिकारिक बैंक खाता विवरण सम्बन्धित सरकारी निकायको आधिकारिक स्रोतबाट मात्रै लिन आग्रह गरिएको छ। राष्ट्र बैंकले सामाजिक सञ्जाल, इमेल तथा विभिन्न मेसेजिङ एपमार्फत फैलाइएका अनधिकृत क्यूआर कोड स्क्यान नगर्नसमेत सचेत गराएको छ। सहयोग रकम पठाउने बहानामा कसैले ओटीपी, पिन वा पासवर्ड जस्ता संवेदनशील व्यक्तिगत विवरण मागेमा त्यस्ता विवरण कसैलाई पनि नदिन राष्ट्र बैंकको आग्रह छ।
यसका साथै रकम पठाउँदा आधिकारि कएप्लिकेसन प्रयोग गर्न र आफू ठगीमा परेको शंका लागेमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई जानकारी गराउन राष्ट्र बैंकले भनेको छ। आवश्यक परे नेपाल प्रहरीको साइबर ब्यूरो वा सम्बन्धित वित्तीय संस्थाको ग्राहक संरक्षण इकाइमा समेत जानकारी गराउन सकिने सूचनामा उल्लेख छ।
प्रकाशित मिति : August 31, 2026 at 4:13 pm



