१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

सैनिक ब्यारेक केन्द्रित र लक्षित उद्दार पूर्णत: असफल र निस्प्रभावीः सूर्य थापा

१४ भदौ, काठमाडौँ ।  नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले बाढी तथा विपद् प्रभावित क्षेत्रमा संघीय सरकारको उद्धार, राहत र व्यवस्थापन प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् । उनले संघीय सरकार राहत सामग्री सैनिक ब्यारेकमा बुझेर थुपार्न र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ‘असम्बन्धित’ सांसदहरूको हेलिकप्टर भ्रमण व्यवस्थापन गर्न व्यस्त रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले संघीय सरकार र बागमती प्रदेश सरकारको भूमिकालाई तुलना गर्दा ठूलो अन्तर देखिएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘संघीय सरकार राहत सेनाको ब्यारेकमा बुझेर थुपार्न र कालो चश्मा लगाएर रास्वपाका असम्बन्धित सांसदहरूको हेलिकप्टर टुर चलाउन व्यस्त, थकित र लखतरान भएको छ।’

थापाले बागमती प्रदेशका मुख्यमन्त्री र संघीय सरकारका प्रधानमन्त्रीको भूमिकाबीच तुलना गर्दा बागमतीका मुख्यमन्त्रीको भूमिका उल्लेख्य रूपमा प्रभावकारी देखिएको दाबी गरेका छन् । उनका अनुसार दुवै सरकारको भूमिकालाई प्रतिशतमा तुलना गर्दा ‘९०:१० प्रतिशत हाराहारी’ को फरक देखिन्छ।

थापाले विपद्का बेला प्रभावित स्थानीय तह, जनप्रतिनिधि तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको जिम्मेवार सहभागिताबिना प्रभावकारी उद्धार, राहत तथा व्यवस्थापन सम्भव नहुने बताएका छन्। उनले प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गरेर स्थानीय संयन्त्रसँग समन्वय गर्दै उद्धार तथा राहत सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

‘प्रभावित पालिका र जनप्रतिनिधि तथा प्रहरी (जनपथ र सशस्त्र)को जिम्मेवारीपूर्ण संलग्नताबेगरको उद्धार, राहत र व्यवस्थापन कोही माइकालालले गर्न संभव छैन,’ थापाले लेखेका छन् ।

थापाले विपद्को गम्भीरता हेरेर सरकारले समयमै विदेशबाट दक्ष उद्धार टोली झिकाउनुपर्ने बताएका छन्। त्यस्तो टोली समयमै नेपाल ल्याउन सके धेरै नागरिकको ज्यान जोगाउन सकिने उनको दाबी छ। उनले अहिले भइरहेको उद्धार प्रणालीमाथि समेत प्रश्न उठाउँदै सैनिक ब्यारेकलाई केन्द्र बनाएर गरिने उद्धार तथा लक्षित उद्धार प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्।

‘विदेशबाट दक्ष उद्धार टोली समयमै ल्याएको भए धेरैको ज्यान जोगाउन सकिन्थ्यो,’ उनले भनेका छन् ।

एमाले नेता थापाले अहिलेको उद्धार प्रणालीलाई ‘सैनिक ब्यारेककेन्द्रित र लक्षित उद्धार’ भन्दै त्यसको प्रभावकारिता शून्यप्रायः रहेको टिप्पणी गरेका छन्।  उनले यस्तो उद्धार ‘पूर्णतः असफल र निस्प्रभावी’ भएको दाबी गर्दै सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन् ।

थापाका अनुसार सरकारको गैरजिम्मेवार कार्यशैलीको प्रत्यक्ष पीडा विपद्बाट प्रभावित नागरिक र क्षेत्रले भोग्नुपरेको छ। उनले आफ्नो स्टेटसको अन्त्यमा लेखेका छन्, ‘गैरजिम्मेवार शासनको पीडा पीडित नागरिक र क्षेत्रले खेप्नुपरेको छ !’

थापाको अभिव्यक्ति सरकारको विपद् व्यवस्थापन, उद्धारको प्राथमिकता, राहत वितरण प्रणाली तथा स्थानीय तहसँगको समन्वयमाथि केन्द्रित राजनीतिक आलोचनाका रूपमा आएको हो ।

प्रकाशित मिति : August 30, 2026 at 6:04 pm