१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफको राजीनामा अस्वीकृत

१५  फागुन, काठमाडाैँ ।  इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिनुभएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गर्नुभएको सरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ । ‘तपाईंको राजीनामा देश हितमा छैन, र त्यसलाई अस्वीकृत गरिएको छ,’ राष्ट्रपति रौहानीले भन्नुभएको छ ।

जारिफले सोमबार सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताउनुभएको थियो । उहाँले सामाजिक सञ्जालमा आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरुलाई सहयोग गर्न नसकेकामा माफी पनि माग्नुभएको थियो ।

जारिफले आफूले जनताको चाहनाअनुसार काम गर्न नसकेकाले पदबाट राजीनामा दिएको भन्दै इन्स्टाग्राममा स्टाटस लेख्नुभएको थियो । उहाँले सन् २०१५ मा विश्वका शक्ति राष्ट्र र अमेरिकाबीचको आणविक सम्झौताको समयमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

उहाँले अहिले किन राजीनामा दिनुभएको हो भन्ने बारेमा केही जानकारी दिइएको छैन । विदेशमन्त्री जारिफले सन् २००२ देखि सन् २००७ सम्म इरानका लागि संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधि भएर पनि काम गर्नुभएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १७:५४