१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

मेलम्ची आयोजनाको ढिलाइप्रति सरकारको ध्यानाकर्षण

१५ फागुन, काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले मेलम्चीको खानेपानी काठमाडौँमा ल्याउन भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै , सांसदहरुले सरकारलाई घाटा नपर्ने गरी जतिसक्दो चाँडो आयोजना सम्पन्न गरी काठमाडौँवासीसमक्ष खानेपानीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

सांसद दिलकुमारी थापा रावलले भन्नुभयो, “अहिलेसम्म पनि मेलम्चीको पानी काठमाडौँसम्म किन आउन सकेन ?, किन अन्यौल भइरहेको छ, जतिसक्दो चाँडो काम सम्पन्न गर्नका लागि म सम्बन्धित निकायसँग आग्रह गर्दछु ।”

सांसद जीतेन्दनारायण देवले ललितपुर नख्खुस्थित एनसेलको कार्यालय र देशका विभिन्न स्थानमा भइरहेको बम आतङ्कलगायत हत्या हिंसा बढ्दै गएको भन्दै सरकारको ध्यानाकषर्ण गराउनुभयो । उहाँले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबारे सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दृष्टिकोण माग गर्नुभयोे ।

सांसद नन्दा चापागाईंले देशमै युवालाई स्वरोजगारको व्यवस्था गर्न माग गर्नुभयो ।  सांसद प्रकाश पन्थले १४० मेघावाटको तनहुँ जलविद्युत् आयोजनाको सम्झौता इटालियन निर्माण कम्पनी सीएमसीसँग भएकामा नेपाल छोडेर फर्केको, सुरक्षाको प्रश्न उठाएकाले पछिल्लो बमकाण्डले विदेशीलाई लगानीका लागि निरुत्साहित गरेको बताउनुभयो । तनहुँ जलविद्युत् आयोजना सिध्याउने खेल पहिल्यैदेखि भइरहेकाले सचेत हुन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ठगेन्द्रप्रकाश पुरीले सडक दुर्घटना बढ्दै गएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुहुँदै दुर्घटनाकै कारण पछिल्लोपटक प्रदेशसभा सदस्य उत्तरकुमार वलीको समेत निधन भएको प्रसङ्ग उल्लेख गर्दै दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद कालीबहादुर मल्लले जाजरकोटमा सुनखानी भएको प्रमाणित भएकामा राज्य बेखबर बनेको उल्लेख गर्नुहुँदै सङ्घीय सरकारले जिम्मा लिई उत्खनन गर्नुपर्ने माग गर्नुभयो । जाजरकोटको नून, फलाम खानी पनि उत्खनन गर्न उहाँले जोडदार माग गर्नुभयो । १०० वर्षसम्म पुग्ने फलाम जाजरकोटबाटै उत्पादन हुने सांसद मल्लको भनाइ थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १७:४६