रसुवा बाढीको प्रभावः जलविद्युत कम्पनीहरुको सेयरमूल्यमा भारी गिरावट
१० भदौ, काठमाडौं । रसुवामा आएको आकस्मिक बाढीको प्रभाव बुधबारको शेयर बजारमा देखिएको छ। बाढीबाट जलविद्युत आयोजना तथा प्रसारण संरचनाहरुमा क्षति पुगेको समाचारसँगै नेप्सेमा सूचीकृत जलविद्युत कम्पनीहरुको सेयरमूल्य उच्च घटेको छ।
बुधबार नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ३४८ कम्पनीकाे ६१ हजार ४४२ पटकको कारोबारमा ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार रुपैयाँबराबरको १ करोड ३५ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बुधबार २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५२ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
यस दिन रसुवागढी हाइड्रोपावर कम्पनी र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य करिब १३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युतको सेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी घटेको छ भने साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी घटेको छ।
सर्वोत्तम पेन्ट्सको सेयरमा यस दिन सकारात्मक सर्किट लागेकाे छ। यस दिन चिलिमे हाइड्रोपावरको सर्वाधिम काराेबार भएकाे छ। सो कम्पनीको यस दिन २० करोड ५६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। आज निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ३.९० प्रतिशत, जलविद्युत समूहको २.८४ प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रकाशित मिति : August 26, 2026 at 3:37 pm



