मुक्तिनाथ विकास बैंकको अटो लोन योजना सार्वजनिक, ५.५४ प्रतिशतमै कर्जा पाइने
९ भदौ, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले यस योजनाअन्तर्गत वार्षिक ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार नाडा अटो शोका अवसरमा ल्याइएको यो योजनामा ग्राहकले बेस रेटमै विशेष ब्याजदर सुविधा पाउनेछन्। यो विशेष योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ। उक्त अवधि समाप्त भएपछि भने बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने बैंकले जनाएको छ।

ग्राहकको कर्जा आवेदन र आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ। यसबाट ग्राहकले आफ्नो रोजाइको सवारीसाधन खरिदका लागि सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकको विश्वास छ।
बैंकले यो अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ। नाडा अटो शो २०२६ मा सहभागी हुने तथा नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले विशेष ब्याजदरमा उपलब्ध गराइएको योजनाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ। मुक्तिनाथ विकास बैंकले ग्राहकलाई सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यसहित विभिन्न समयमा विशेष कर्जा योजना ल्याउँदै आएको छ।
प्रकाशित मिति : August 25, 2026 at 12:31 pm


