८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

डिजिटल प्लेटफर्ममा चलचित्र ‘बेहुली’को दबदबा: दोस्रो गीत ‘म भईन भने’ले २४ घण्टामै तोड्यो अघिल्लो रेकर्ड

८ भदाै, काठमाडौं । नेपाली चलचित्र जगतमा यतिबेला आगामी भदौ २६ गते प्रदर्शन हुने चलचित्र ‘बेहुली’को सांगीतिक चर्चा चुलिएको छ। चलचित्रको पहिलो गीत ‘दिलमा ठाउँ छ’को भव्य सफलतापछि निर्माण पक्षले सार्वजनिक गरेको दोस्रो गीत ‘म भईन भने’ले इन्टरनेटमा विष्फोटक सुरुवात गरेको छ। सार्वजनिक भएको २४ घण्टा भित्रै यो गीत टिकटक र युट्युबमा निकै व्यापक बनेको छ।

रोमान्टिक गीत ‘म भईन भने’ले डिजिटल प्लेटफर्ममा आफ्नै अघिल्लो रेकर्डलाई समेत तोडेको छ। यस गीतले सार्वजनिक भएको २४ घण्टाभित्रै युट्युबमा ४ लाख भ्युज र टिकटकमा २० हजार भन्दा बढी भिडियो पाउँदै नयाँ रेकर्ड राखेको छ। जबकी चलचित्रको पहिलो चर्चित गीत ‘दिलमा ठाउँ छ’ ले सोही अवधिमा १० हजार भिडियोको मात्र साथ पाएको थियो। यस ऐतिहासिक ट्रेन्डिङले चलचित्रप्रति दर्शकको उत्सुकता कति छ भन्ने प्रष्ट पार्छ। लामो समयदेखि नेपाली चलचित्रमा रोमान्टिक आइरहेका थिएनन्। धेरै पछि यस प्रकारको गीत सुन्न र हेर्न पाएकोमा खुसी लागेको दर्शकले प्रतिक्रिया दिएका छन्।

यसअघि सार्वजनिक गरिएको चलचित्रको प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ लोकप्रिय लोक स्वादमा आधारित थियो। उक्त गीतले हालसम्म युट्युबमा करिब १ करोड भ्युज पाइसकेको छ र यसको लोकप्रियता अझै पनि उत्तिकै छ। टिकटक तथा इन्स्टाग्रामका रिलहरूमा यस गीतको हुक-स्टेपलाई दर्शक र सेलिब्रेटीहरूले निकै रुचाएका थिए।

‘म भईन भने’ एक मनमोहक रोमान्टिक गीत हो, जसमा लोकप्रिय संगीतकार तथा चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। गीतमा गायक सुरेश लामा र गायिका दुर्गा खरेलले सुमधुर स्वर दिएका छन् भने संगीत एरेन्ज उदय राज पौडेलले गरेका हुन्। गीतको भिडियो प्राकृतिक सुन्दरताले भरिपूर्ण भारतका दार्जिलिङ, मिरिक र सिक्किमका विभिन्न स्थानहरूमा छायांकन गरिएको छ। यसलाई उत्सव दाहालले क्यामरामा कैद गरेका हुन् भने सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन्। भिडियोमा चलचित्रका मुख्य कलाकार तथा लोकप्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता पारस बम ठकुरी (कुल ब्वाइ) र प्रख्यात अभिनेत्री दिव्या रायमाझीको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ, जसको केमिष्ट्रीलाई दर्शकले निकै तारिफ गरिरहेका छन्।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस र दिव्याको साथमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्‌ । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।

यसमा नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ । सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस चलचित्रका सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना हुन् । यमप्रसाद ओली प्रोडक्सन हेड रहेको सिनेमामा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन छ। काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। डिजिटल प्लेटफर्मको अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

प्रकाशित मिति : August 24, 2026 at 5:24 pm