८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

मन्त्री छनोटमा कुरा नमिलेपछि कर्णालीमा शपथ कार्यक्रम स्थगित

८ भदौ, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा मन्त्री छनोटमा कुरा नमिलेपछि कर्णालीमा तीन मन्त्रीको शपथ रोकिएको छ । कर्णाली सरकारमा सहभागी हुने तीन मन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको थियो । तर, मन्त्री छनोटमा कुरा नमिलेपछि अन्तिम समयमा शपथ कार्यक्रम नै स्थगित गरिएको हो ।

मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयलाई शपथका लागि समय माग गरेका थिए । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले ११ बजेको समय तोकेका थियो । तर मुख्यमन्त्री शाहीले मन्त्रीको नाम सिफारिस गर्न सकेनन् । मुख्यमन्त्री शाहीले नै शपथ कार्यक्रम स्थगन गरिदिन आग्रह गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

dainiki.com

यसअघि विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका लागि चर्चामा थियो । तर साबिक समाजवादी धारले नमानेको बताइएकाे छ । साबिक समाजवादी धारले पनि प्रदेशमा आफ्नो भाग खोजेपछि विवाद चुलिएको नेकपाका नेताहरू बताउँछन् । साबिक समाजवादीका एक जना मात्रै समानुपातिक सांसद छिन् । साथै,अन्य सांसदले पनि मन्त्रीका लागि दाबी गरिरहेकाले मुख्यमन्त्री शाहीलाई मिलाउन सकस भएको छ ।

प्रकाशित मिति : August 24, 2026 at 12:08 pm