सूर्य थापाको प्रश्न : बालेन सरकारविरुद्ध सोझिनुपर्ने निशाना ओलीतिर किन ?
७ भदौ, काठमाडौं । नेकपा (एमाले)का नेता सूर्यबहादुर थापा क्षेत्रीले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सार्वजनिक रूपमा भइरहेका टिप्पणीप्रति असन्तुष्टि जनाउँदै पार्टी नेतृत्वविरुद्धको अभियान कसको स्वार्थमा चलिरहेको छ भन्ने प्रश्न उठाएका छन्।
उनले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध राजनीतिक रूपमा सोझिनुपर्ने अवस्थामा पार्टीभित्रै अध्यक्ष ओलीलाई निशाना बनाउने प्रवृत्ति देखिएको भन्दै त्यसको उद्देश्यप्रति प्रश्न गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा लामो धारणा सार्वजनिक गर्दै थापाले एमालेका केही सम्मानित नेता तथा जिम्मेवार व्यक्तिहरूबाट ओलीविरुद्ध आएका पछिल्ला अभिव्यक्तिले आफूलाई ‘उदेक’ लागेको बताएका छन्।
उनले पार्टीका सम्मानित नेता अमृतकुमार बोहराको फेसबुक स्टाटस, केशवप्रसाद बडालले बोली फिर्ता लिनुपर्ने विषयमा दिएको अन्तर्वार्ता, युवराज कार्कीलगायतका नेताका सार्वजनिक टिप्पणी, बौद्धिक परिषद्का अध्यक्षको नेतृत्वमा भएको भनिएको ‘चिया अभियान’, केन्द्रीय सल्लाहकार परिषद्का सदस्यले टेलिभिजनमा ओलीको अनुहार किन आइरहन्छ भन्दै दिएको अभिव्यक्ति तथा एक केन्द्रीय सदस्यले ‘ओली हटाउनु एमालेको मिसन हो’ भनेको विषय उल्लेख गरेका छन्।
यी अभिव्यक्ति सम्बन्धित नेताहरूका वास्तविक धारणा हुन् वा ‘एमालेमा अन्तर्ध्वंस मच्चाउन योजनाबद्ध रूपमा गरिएको प्रयास’ भन्ने विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ छ। थापाले सञ्चारमाध्यममा आएका विषयलाई आधार बनाएर तत्काल धारणा बनाउनुको साटो सम्बन्धित नेताहरूले अध्यक्षसँग प्रत्यक्ष संवाद गर्नुपर्ने बताएका छन्।
‘सम्बन्धित कमरेडहरूको अध्यक्षसँग भेट भएको छैन भने भेटेर, कुरा भएको छैन भने मोबाइलबाट कल डायल गरी संवाद गरेर, मिडियामा उछालिएको विषयको तरंग र प्रभाव हो भने छेउदेखि टुप्पोसम्म पूरै वाक्य र सन्दर्भ सुनेर तथा विरोधीले चलखेल गर्न खोजेको दुराशय हो भने त्यसलाई रणनीतिक हिसाबले मनन गरेर सही बुझाइ, धारणा र निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ,’ उनले लेखेका छन्।
नेता थापाले व्यक्तिको आफ्नै सही धारणा र दृष्टिकोण निर्माणले सार्वजनिक अभिव्यक्तिमा ठूलो महत्व राख्ने पनि बताएका छन्।
‘आवारा र किर्ना’को अभिव्यक्तिलाई लिएर नेतृत्वमाथि आक्रमण उचित होइन
अध्यक्ष ओलीले प्रयोग गरेको ‘आवारा र किर्ना’ भन्ने रूपकलाई आफू वा पार्टीका नेता–कार्यकर्तालाई लक्षित गरिएको ठानेर ओलीविरुद्ध आक्रमणको निशाना सोझ्याउनु उचित नभएको थापाको तर्क छ।
‘अध्यक्ष केपी शर्मा ओलीले प्रयोग गरेको मेटाफर–आवारा र किर्ना मलाई नै हो, अझ पार्टीका नेता, कार्यकर्तालाई हो जस्तोगरी आक्रमणको तिर सोझ्याउनु बुझक्कड नेता–कार्यकर्ताको सही कार्यतरिका किमार्थ पनि होइन,’ उनले भनेका छन्।
ओलीको अभिव्यक्तिमा प्रयोग भएका शब्द, भाषा, बिम्ब वा रूपक बुझ्न समस्या भए प्रत्यक्ष रूपमा भेटेर वा टेलिफोनमार्फत स्पष्टता लिन सकिने उनको सुझाव छ। तर त्यसकै आधारमा पार्टी अध्यक्ष र नेतृत्वविरुद्ध सार्वजनिक अभियान चलाउने शैलीले पार्टीलाई कहाँ पुर्याउँछ भन्ने प्रश्न उनले उठाएका छन्।
अध्यक्षले तत्काल पद छोड्नुपर्ने मुख्य पार्टी काम हो ?
थापाले पार्टीभित्र ‘पुनर्गठन’को नाममा अध्यक्ष ओलीले तत्काल पद छोड्नुपर्ने, नछोडे हटाउनुपर्ने वा हटाउने गतिविधि भइरहेको हो भने त्यसको औचित्यमाथि समेत प्रश्न गरेका छन्।
‘जहाँसम्म पुनर्गठन भन्दै अध्यक्षले पद छोडिहाल्नुपर्ने, तत्काल छोड्नुपर्ने वा अन्यथा हटाउनुपर्ने र हटाउनेजस्ता क्रियाकलाप के भइरहेका हुन् ? के कतिपय साथीहरूको आज मुख्य पार्टी काम नै यही भएको हो त?’ उनले प्रश्न गरेका छन्।

यस्तो अभियान एमालेले नै चाहेको हो कि अरू कसैले चाहेको हो भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ।
महाधिवेशनको निर्णय स्वीकार गर्नुपर्छ
थापाले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई विधानअनुसार स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार नवौं, दशौं र एघारौं महाधिवेशनमा नेतृत्व परिवर्तनको प्रयास सफल नभएको अवस्थामा अहिले फेरि पराजयको सम्पूर्ण जिम्मेवारी ओलीमाथि थोपरेर सार्वजनिक निन्दा र विरोधको अभियान चलाउनु पार्टी संस्थागत निष्कर्षमा पुग्ने बाटो हुन नसक्ने तर्क गरेका छन्।
‘महाधिवेशनले निर्वाचित गरेको नेतृत्व र अध्यक्षले त्यही महाधिवेशनमा प्यानलसहित अध्यक्षदेखि सदस्यसम्म उम्मेदवार भएपछि प्राप्त जयपराजयको परिणामलाई स्वीकार गरेर विधानतः अघि बढ्नु उचित हुन्छ,’ उनले लेखेका छन्।
उनले फागुन २१ को निर्वाचन परिणामको एक्लो जवाफदेही ओलीलाई बनाएर सार्वजनिक रूपमा विरोध अभियान चलाउनु पार्टीका लागि उचित नहुने बताएका छन्।
‘अब टोपी हातमा लिएर कुद्दै फागुन २१ को पराजयको एक्लो जवाफदेही उहाँलाई बनाउँछौं भनेर सार्वजनिक निन्दा र विरोधको अभियान सञ्चालन गरेर पार्टी संस्थागत रूपमा निष्कर्षमा पुग्न सम्भव हुन्छ र?’ थापाको प्रश्न छ।
ओलीलाई अध्यक्ष बनाउन विगतमा यही शैलीमा आफूहरू लागेको कुनै ‘ट्र्याक रेकर्ड’ छ कि छैन भनेर पनि उनले प्रश्न गरेका छन्।
सत्ताले एमाले समाप्त पार्न खोजेको छ, एमालेकै स्वर किन मिल्छ ?
थापाले वर्तमान राजनीतिक परिस्थितिमा एमाले र अध्यक्ष ओलीविरुद्ध बाह्य दबाब तथा राजनीतिक चुनौती रहेको दाबी गर्दै पार्टीभित्रका कतिपय नेताका अभिव्यक्ति सत्ताधारी पक्षसँग मिल्दोजुल्दो देखिनु गम्भीर विषय भएको बताएका छन्।
‘सिंगो सत्ताले अध्यक्ष ओली र एमालेलाई समाप्त पार्न खोजेकै छ, अनि एमालेकै कतिपय नेताहरूका स्वर सत्ताधारीसँग मिलेको किन त ?’ उनले प्रश्न गरेका छन्। उनले पार्टीभित्र देखिएको असन्तुष्टिलाई संवाद र संस्थागत प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
अध्यक्षको अभिव्यक्ति चित्त नबुझे वा त्यसमा प्रयोग भएका शब्द र रूपकप्रति आपत्ति भए प्रत्यक्ष संवादबाट समाधान खोज्न सकिने उनको भनाइ छ। तर अध्यक्ष तथा पार्टी नेतृत्वका विषयमा निरन्तर सार्वजनिक रूपमा यस्तै शैली अपनाउँदै जाने हो भने त्यसले एमालेको संगठनात्मक संरचनामै असर पार्ने चेतावनी थापाले दिएका छन्।
‘नेतृत्व र अध्यक्षका सम्बन्धमा यस्तै तरिका र कार्यशैली अपनाएर पुगिन्छ कहाँ? पुर्याउने कहाँ? प्रायः जिल्लाहरूमा यस्तो प्रवृत्ति बढ्दै–बढाउँदै जाँदा पार्टी कहाँ रहन्छ?’ उनले प्रश्न गरेका छन्।
थापाको यो अभिव्यक्ति एमालेभित्र अध्यक्ष ओलीको नेतृत्व, पार्टी पुनर्गठन र पछिल्लो राजनीतिक पराजयको जिम्मेवारीबारे बढ्दै गएको बहसकै बीच सार्वजनिक भएको हो।
प्रकाशित मिति : August 23, 2026 at 7:58 am


