६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

बालेनको मुस्ताङ भ्रमणबारे महेशको प्रश्न : आफ्नै पार्टीका युवा नेताले दिए कडा जवाफ

६ भदाै, काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमणलाई लिएर नेकपा एमालेभित्रै मतभेद देखिएको छ । एमाले सचिव महेश बस्नेतले प्रधानमन्त्रीको भ्रमणको उद्देश्य र हेलिकोप्टर प्रयोगबारे प्रश्न उठाएका छन् भने उनकै पार्टीका युवा नेता प्रकाश पौडेलले बस्नेतको टिप्पणीलाई ‘हावा कुरा’ भन्दै सार्वजनिक रूपमै प्रतिवाद गरेका छन् ।

प्रधानमन्त्री शाह शनिबार हेलिकोप्टरमार्फत मुस्ताङको लोमान्थाङ पुगेका हुन्। भ्रमणका क्रममा लो घ्याकर गुम्बा र दामोदर कुण्ड पुग्ने कार्यक्रम रहेको बताइएको छ। यसैबीच एमाले सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको मुस्ताङ भ्रमणप्रति प्रश्न उठाएका थिए । उनले केही दिनअघि अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक जे. हार्करले समेत मुस्ताङका गुम्बाहरू भ्रमण गरेको प्रसंग जोड्दै प्रधानमन्त्रीको भ्रमणबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताएका थिए ।

‘कुनै औपचारिक कार्यक्रमबारे सार्वजनिक जानकारी नदिई तथा सुरक्षा संयन्त्रलाई समेत जानकारी नगराइएको’ भन्दै बस्नेतले भ्रमणको उद्देश्य, कार्यक्रम र हेलिकोप्टर प्रयोगबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका थिए। उनले संयोग मात्र भए पनि जनताका प्रश्नको जवाफ दिनुपर्ने भन्दै प्रधानमन्त्रीलाई नै प्रश्न गरेका थिए– ‘मुस्ताङ भ्रमणको वास्तविक उद्देश्य के हो ?’

तर बस्नेतको यही टिप्पणीलाई एमालेकै युवा नेता प्रकाश पौडेलले सामाजिक सञ्जालमार्फत कडा शब्दमा प्रतिवाद गरेका छन् । पौडेलले बस्नेतलाई तथ्यमा आधारित भएर बोल्न सुझाव दिँदै पार्टीलाई बदनाम गराउने र जनताबाट टाढा पुर्‍याउने काम नगर्न चेतावनी दिएका छन् ।

पौडेलले लेखेका छन्, ‘हावा कुरा लेख्ने, पार्टी बदनाम गर्‍यो, जनताबाट टाढा पुर्‍यायो। भित्र प्रश्न गरे नेतृत्व रक्षा, के के घेराबन्दी भन्यो । तपाइँ पार्टीको सचिवले तथ्य लेख्नुस्।’

उनले प्रधानमन्त्री हेलिकोप्टरबाट नभई सडकमार्ग हुँदै मुस्ताङतर्फ गएको दाबीसमेत गरेका छन् । ‘उनी सडकबाट गएका छन् र भर्खरै बेनीबाट अगाडि गए,’ पौडेलले आफ्नो टिप्पणीमा भनेका छन्।

प्रकाशित मिति : August 22, 2026 at 1:39 pm