ऋणपत्र दर्ता तथा निष्कासन नियमावलीको मस्यौदामा सेबोनले माग्यो सुझाव
५ भदाै, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘ऋणपत्र दर्ता तथा निष्कासन नियमावली, २०८३’ को मस्यौदामा सरोकारवालाबाट राय तथा सुझाव माग गरेको छ। बोर्डले नेपालको ऋणपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी, प्रतिस्पर्धी तथा प्रभावकारी बनाउने उद्देश्यले नियमावलीको मस्यौदा तयार पारेको हो।
बोर्डका अनुसार सार्वजनिक गरिएको नेपालको पूँजी बजार विकास मार्गचित्र २०८३ मा नेपालको पूँजी बजारलाई ‘इक्वीटी सेन्ट्रिक मार्केट’ बाट ‘मल्टी प्रडक्ट क्यापिटल मार्केट’ मा रूपान्तरण गर्ने लक्ष्य लिइएको छ। सोही लक्ष्यअनुसार आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ऋणपत्र बजारलाई गतिशील बनाउन संस्थागत ऋणपत्र बजार विकास गर्ने कार्यक्रमसमेत तय गरिएको छ।
नेपालको पूँजी बजारमा ऋणपत्र तथा बन्ड बजारको विकासमार्फत बजारको गहिराइ, तरलता तथा जोखिम व्यवस्थापनमा योगदान पुर्याउने बोर्डको अपेक्षा छ। ऋणपत्र बजारलाई थप विविधीकृत, प्रतिस्पर्धी र पारदर्शी बनाउन संस्थागत ऋणपत्र बजारको विकास आवश्यक रहेको बोर्डले जनाएको छ।
हाल मुख्यतया बैंक तथा वित्तीय संस्थाहरूले मात्र ऋणपत्र निष्काशन गर्दै आएकोमा अब अन्य योग्य संगठित संस्थाहरूले समेत दीर्घकालीन वित्तीय स्रोत परिचालन गर्न सक्ने गरी अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा कानुनी व्यवस्थालाई परिमार्जन गरिएको छ। बोर्डको कानून प्रवलीकरण समितिले आवश्यक परिमार्जनसहित तयार पारेको यस मस्यौदालाई थप प्रभावकारी र समयानुकूल बनाउन सार्वजनिक छलफलका लागि ल्याइएको हो।
सरोकारवाला पक्षहरूले यस मस्यौदाका सम्बन्धमा आफ्ना कुनै राय, सुझाव वा प्रतिक्रिया भएमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बोर्डको आधिकारिक इमेल [email protected] मा उपलब्ध गराउन सक्नेछन्।
बोर्डले सरोकारवालाहरूबाट प्राप्त सुझावहरूको विस्तृत अध्ययन र विश्लेषण गरी नियमावलीलाई अन्तिम रूप दिने जनाएको छ। नियमावलीको मुख्य विशेषता, संक्षिप्त विवरण र मस्यौदाको पूर्ण पाठ बोर्डको आधिकारिक वेबसाइटमा समेत उपलब्ध गराइएको छ। यस प्रक्रियाले नेपालको ऋणपत्र बजारलाई थप व्यवस्थित र गतिशील बनाउने लक्ष्य राखेको छ।
प्रकाशित मिति : August 21, 2026 at 9:33 am


