बैंक र बैंकरको व्यावसायिक निर्णयलाई फौजदारीकरण गरेको भन्दै सिबिफिनको आपत्ति
४ भदौ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियालाई लिएर बैंकका नेतृत्वदायी व्यक्तिमाथि अनुसन्धान तथा मुद्दा दायर भएको विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर आपत्ति जनाएको छ।
सिबिफिनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित बैंकिङ ऐन र कानूनअनुसार गरिएको नियमित व्यावसायिक कार्यलाई ‘आपराधिक’ रंग दिने प्रयास भएको भन्दै ध्यानाकर्षण गराएको हो ।
सिबिफिनले बैंकले कानुनबमोजिम सिर्जना गरेको धितो तथा सुरक्षण अधिकारलाई पछि जारी भएका क्षेत्रगत नियमले निष्प्रभावी बनाउन सक्ने वा नसक्ने विषयमै गम्भीर कानुनी प्रश्न उठेको जनाएको छ। यस्तो कानुनी अन्योलले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह र असुली गर्दा कुन अधिकारमा भरोसा गर्ने भन्ने प्रश्नसमेत खडा गरेको सिबिफिनको भनाइ छ।
सिबिफिनका अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह, धितो सुरक्षण, कर्जा असुली तथा लिलामसम्बन्धी निर्णयको प्राविधिक र नियामकीय परीक्षण गर्ने प्राथमिक अधिकार नेपाल राष्ट्र बैंकमा निहित छ । त्यसैले यस्ता विषयमा अन्य निकायबाट थप अनुसन्धान तथा कारबाही अघि बढाउनुअघि नेपाल राष्ट्र बैंकबाट आवश्यक प्राविधिक तथा नियामकीय परीक्षण गरिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
सिबिफिनले बैंकको व्यावसायिक निर्णय, नियामकीय त्रुटि र आपराधिक कार्यबीचको कानूनी भिन्नता स्पष्ट हुनुपर्नेमा जोड दिएको छ । भिन्नता नछुट्याई अनुसन्धान तथा अभियोजन गर्दा बैंकिङ क्षेत्रको निर्णय क्षमता, संस्थागत सुशासन, नेतृत्वको मनोबल र आम जनविश्वासमा नकारात्मक असर पर्न सक्ने जनाएकाे छ ।
त्यस्तै, अनुसन्धानका क्रममा प्राप्त ग्राहकसम्बन्धी सूचना, बैंकका आन्तरिक निर्णय, व्यावसायिक विवरण तथा व्यक्तिगत तथ्यको गोपनीयता कानूनबमोजिम संरक्षण गरिनुपर्ने सिबिफिनले जनाएको छ ।

प्रकाशित मिति : August 20, 2026 at 4:54 pm


