२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

मुक्तिनाथ विकास बैंकले ल्यायो विशेष कृषि तथा एसएमई कर्जा योजना

४ भदौ, काठमाडौं । मुक्तिनाथ विकास बैंकले कृषि तथा एसएमई कर्जामा विशेष सहुलियत योजना सार्वजनिक गरेको छ । तीज, दशैं, तिहार तथा छठ पर्वको अवसरमा आर्थिक गतिविधिलाई चलायमान बनाउन र व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले सहुलियत योजना ल्याएको हो ।

बैंकले आफ्ना ग्राहकहरूका लागि कृषि, व्यवसाय तथा साना र मझौला उद्यम (एसएमई) क्षेत्रमा प्रवाह गरिने विभिन्न कर्जा शीर्षकहरूमा आकर्षक ब्याजदर र प्रशासनिक शुल्कमा छुटको व्यवस्था गरेको हो ।

यस विशेष योजना अन्तर्गत ग्राहकहरूले बैंकको आधार दरमा न्यूनतम ०.५० प्रतिशत मात्र प्रिमियम दर थप गरी कर्जा प्राप्त गर्न सक्नेछन् । भदौका लागि बैंकले ५.५२ प्रतिशत आधार दर छ । जसअनुसार, ६.०२ प्रतिशत ब्याजदरमै यो कर्जा पाइनेछ ।

ब्याजदरमा दिइने सहुलियतका साथै कर्जा प्रवाह गर्दा लाग्ने सेवा शुल्क (प्रशासनिक शुल्क) मा समेत २५ प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

चाडपर्वको समयमा व्यवसायीहरूलाई आवश्यक पर्ने थप पूँजी व्यवस्थापन गर्न र कृषि तथा साना उद्यमीहरूको वित्तीय आवश्यकता सम्बोधन गर्न यो योजनाले महत्त्वपूर्ण सहयोग पुग्ने बैंकको विश्वास छ ।

सीमित अवधिका लागि मात्र लागू हुने यस योजनामार्फत नयाँ व्यवसाय विस्तार, उद्यम सञ्चालन तथा कार्यशील पूँजीका लागि कर्जा लिन चाहने ग्राहकहरू लाभान्वित हुनेछन् । साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा यस बैंकमा स्वाप गर्न चाहनेहरूका लागि पनि यो सुविधा उपलब्ध गराइनेछ । यो विशेष कर्जा सुविधा देशभर रहेका बैंकका १७६ वटै शाखाहरूबाट लिन सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : August 20, 2026 at 12:17 pm